जसपा विभाजनको असर लुम्बिनी प्रदेशमा: राजीनामा दिएर बसेका मन्त्री अहिरले सम्हाले जिम्मेवारी

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। संसदीय दलका नेता भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीकाे रूपमा कार्यभार सम्हालेका हुन्।

 

पार्टी विभाजनपछि अशाेक राईकाे नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन्। अशाेक राईकाे निर्देशनमा अहिरले मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे स्राेतले जनाएको छ।

सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएको घाेषणा गरेका थिए। तर, उनकाे राजीनामा स्वीकृत भएको थिएन।

केन्द्रीय राजनीतिमा साे पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसकाे प्रभाव देखिएकाे हाे।

राजीनामा दिएर सरकार बाहिर बसेका अहिर साेमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका हुन्।

उनले राजनीतिक लाइन क्लियर गर्दै संस्थापन इतर समूहमा रहेकाे जनाउ दिएका छन।

उनले बहुमत जता हुन्छ उतै आफू सहभागी हुने पनि बताए।

‘कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने? असन्तुष्टिहरू पनि बिस्तारै मेटिँदै जान्छन्,’ अहिरले भने, ‘हाम्रो पार्टीभित्र पनि समस्या देखिएकाे छ। कता जाने, के गर्ने भन्ने अझै निर्णय भइसकेको छैन। जता बहुमत हुन्छ उतै जाने हाे।’

लुम्बिनी प्रदेशमा नयाँ समीकरणकाे आधारमा सरकार बनाउँदा जसपालाई दुईवटा मन्त्रालय दिने लिखित सहमति थियाे। तर, साे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीकाे निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए।

लुम्बिनीमा तीनजना प्रदेशसभा सदस्य रहेकाे जसपाले २ वटा मन्त्रालयकाे दावी गर्दै आएकाे थियाे।

तपाईको प्रतिक्रिया