जंगलको आगो बस्तीमा, अर्घाखाँची र गुल्मीमा एक सय घरगोठ जलेर नष्ट

अर्घाखाँची र गुल्मीमा डढेलो बस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। गुल्मीमा २० घर २१ गोठ र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

 

अर्घाखाँचीको शीतगंगा नगरपालिका र भुमिकास्थान नगरपालिका तथा पाणिनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनमा सल्किएको आगो अनियन्त्रित भएर बस्तीमा फैलिएको हो ।

गत वर्ष बैसाखमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिको बनमा लागेको आगो बस्तीमा फैलिदा ४ जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।

सामुदायिक वनमा सल्किएको आगो बस्तीमा फैलिएको आगलागीबाट ११ खसी बाख्रा र ६ वटा भैंसी पनि जलेर मरेका छन् भने आर्थिक क्षतिको विवरण संकलन हुन सकेको छैन । शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मीलगायतका पहाडी जिल्लाहरुमा चलेको हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो।

यस्तै, गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो। डढेलोमा परी ७५ वटा चौपाया मरेका छन् भने एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ।

तपाईको प्रतिक्रिया