गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

 

 

आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ ।

नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षक दरबन्दी मिलान जस्ता जटिल कामको परिणाम देखिन थालेको बताउनुभयो। शिक्षामा गुणस्तर सुधारका गाउँपालिकाले अभिभावक शिक्षाका लागि थुप्रै कार्यक्रमहरु गरेको बताउदै अध्यक्ष पोख्रेलले कक्षा ८ र १० लाई अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि नतिजा सुधारका लागि सबैको सहयोग प्रयास केही हदसम्म सफल भएको बताउनु भयो।

आगामी दिनमा अझ मिहेनत गरेर नयाँ प्लानिङ सहित अघि बढ्नु पर्ने बताउदै आफ्नो दुइ वर्षको अनुभवलाई मुल्यांकन गर्दा शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक वातावरण बदल्न आवश्यक रहेको बताउनुभयो । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थी मिलेर शैक्षिक वातावरण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो।

कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालको बिशेष प्रस्तुती रहेको थियो। आफ्नो प्रस्तुति दिदै शिक्षा बिज्ञ सिलवालले शिक्षकहरुले आफ्नो जिम्मेवारी मात्र नभई विद्यार्थीहरुको मनोभाव बुझ्न आवश्यक रहेको बताउनुभयो। अवको शिक्षा बालविकास कक्षा खेल्दै सिक्दै, कक्षा १ देखी कक्षा ३ सम्म गतिविधि, कक्षा ४ देखि कक्षा ८ सम्म रचनात्मक र कक्षा ९ देखी कक्षा १०र१२ सम्म अनुसन्धान मुलक स्कुल बनाउने गन्तव्य अनुसार अघि बढ्नुपर्ने बताउनुभयो।

अङ्ग्रेजी भाषाले मात्र शिक्षाको गुणस्तर प्रमाणित नगर्ने बताउदै शिक्षा बिज्ञ सिलवालले शिक्षामा गुणस्तर र व्यवहारीक शिक्षामा बढी जोड दिन आवश्यक रहेको बताउनुभयो। विध्यालयको प्रधानाध्यापक बसको ड्राइभर जस्तै भएको भन्दै ड्राइभर राम्रो नभए गाडी जुनसुकै समयमा दुर्घटना हुन सक्ने भन्दै विद्यालय सुधारका लागि विद्यालयका प्रधानाध्यापकको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो। बाल मनोदश बुझ्न नसके पढाउनुको कुनै अर्थ नरहने बताउदै सिलवालले अवको गन्तव्य काहा जाने ? किन जाने ? र नगए के हुन्छ ? भन्ने कुरा मनन् गर्न आवश्यक रहेको बताउनुभयो।

उक्त कार्यक्रममा उत्कृष्ट अंक ल्याई प्रथम हुने सामुदायिक विद्यालयतर्फका विद्यार्थी आधारभूत विद्यालय बनघुस्रीकी छात्रा विद्या थापा क्षेत्री र गढवा १ रङसिङ्गमा रहेको जनमुखी माध्यमिक विद्यालय रङसिङ्गका छात्र अमृत गिरी लाई सम्मान गरिएको छ ।

उत्कृष्ट नतिजा दिन सफल संस्थागत विद्यालयतर्फ प्रतिष्ठा एकेडमी कालाकाटे र कोशेली इङ्लिश बोर्डिङ स्कुल महदेवा सम्मानित भएको छ। त्यसैगरी उत्कृष्ट अंक ल्याउने संस्थागत विद्यालयका विद्यार्थी मूनामिलन इङ्लिश बोर्डिङ स्कुलकी छात्रा अनिशा चौधरी र शुभ तारा इङ्लिश बोर्डिङ स्कुल गढवाका अप्सन ढुङगाना लाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ।

त्यसैगरी कार्यक्रम विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको छ। नेपाली विषयमा उत्कृष्ट नतिजा दिन सफल आधारभूत विद्यालय कक्रहवाका दामोदर रेग्मी, जनमुखी माध्यमिक विद्यालय रङसिङ्गका शिक्षक लेखराज पोख्रेल, त्यसैगरी अङ्ग्रेजी विषयमा उत्कृष्ट नतिजा दिन सफल सरस्वती आधारभूत विद्यालय चन्दनपुरका शिक्षक खिम बहादुर चौधरी, र गणात बिषय शिक्षिका सम्झना वली, त्यसैगरी जनमुखी माध्यमिक विद्यालय रङसिङ्गका शिक्षक टिकाराम आचार्य र सामाजिक विषय पढाउने शिक्षक ज्ञानहरी रिजाललाई आफ्नो बिषयमा सडै भन्दा बढी बिद्यार्थी पास गराउन सफल भएको भन्दै सम्मान गरिएको छ।

कक्षा ८ को परीक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा दुर्गा आधारभूत विद्यालय मनिकापुरका शिक्षक जमुना पौडेल, सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका शिक्षक बेगम बहादुर गहतराज लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, कार्यपालिका सदस्य चन्द्रा केसी, शिक्षा समिति सदस्यहरुमा गोबिन्द केसी र राजु यादव, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, पत्रकार शिवराज पन्थी लगायतकाको सहभागिता रहेको थियो।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया