चौतर्फी दबाबपछि मर्मतमा जुट्यो प्राधिकरण

दशरथ घिमिरे

 

देउखुरी । विद्युतीय दुर्घटना हुँदा एकै घरका तीन सदस्यको निधन भएपछि विद्युतसँग जोडिएको प्राविधिक पक्षलाई चुस्त राख्न विद्युत प्राधिकरणलाई दबाब परेको छ । पुराना भएका बिजुलीका तारहरु नफेर्दा, समयमा मर्मत नगर्दा तार चुँडिएर मानवीय क्षति भएपछि विद्युत प्राधिकरणलाई यस्तो दबाब परेको हो । चैत १० गते दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर हिडिरहेको व्यक्तिको शरीरमा खसेपछि तीनजनाको मृत्यु भएको थियो ।

राप्ती गाउँपालिका–३ मसुरिया निवासी ६७ वर्षीय गोरखबहादुर केसी, उहाँकी श्रीमती ५५ वर्षीया दिलसरा केसी र चार वर्षीय नाति ईश्वर केसीको करेन्ट लागेर मृत्यु भएपछि केसी परिवार अहिले शोकमा छ । आँगनमा खेल्दै गरेको सन्तान र अभिभावक आमा–बुवालाई गुमाउनु पर्दाको पीडा परिवारका सदस्य र आफन्तमा गहिरो गरी परेको छ । यो घटनापछि विद्युत प्राधिकरणलाई प्राविधिक पक्षलाई चुस्त राख्न चारैतिरबाट दबाब परेको छ । विद्युतसँग जोडिएका समस्याहरु पहिचान गर्न प्राधिकरणले सर्च अभियान थालेको छ । देउखुरीका चारवटै स्थानीय तहमा विद्युतीकरण छ । विकट र दूरदराजका बस्ती तथा शहर बजारमा पनि विद्युतीय जोखिम उच्च छ । बिजुलीका तारहरु एक आपसमा जुधेर सर्ट हुनेसम्मको जोखिम छ । हावाहुरीको मौसम भएकाले पनि विद्युतीय दुर्घटना बढ्न सक्ने भएपछि सर्च अभियान थालिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले जनाएको छ ।

मसुरियामा भएको दुर्घटना सम्बन्धमा भएको वार्तामा पनि गाउँपालिका क्षेत्रभित्रका विद्युतका तारहरु निरीक्षण गरी सुरक्षित गर्ने लिखित सम्झौता भएको थियो । जस अन्तर्गत प्राधिकरणले अहिले सर्च अभियानसँगै मर्मतको काम अघि बढाएको वितरण शाखा प्रमुख युवराज रावतले बताउनुभयो । ‘कहाँ के छ अवस्था भनेर खोज्ने काम भइरहेको छ । हामीले धेरै जोखिम भएको ठाउँमा मर्मत पनि थालेका छौं’– उहाँले भन्नुभयो– ‘भविष्यमा यस्ता ठूला विद्युतीय दुर्घटना नहुन् भन्ने कामना छ । हामीले जोखिम क्षेत्रको पहिचान गरेर समाधानको विकल्पमा समेत काम गर्दैछौं ।’

सामुदायिक विद्युतीकरण लागु भएको, त्यस समयमा विस्तार भएका स्थानहरुमा तारहरुको मर्मतको काम थालिएको प्राधिकरणले जनाएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम अहिले प्राधिकरणमा गाभिएको छ । सबै जिम्मेवारी प्राधिकरणले उठाएको छ । त्यस कारण पनि सामुदायिक विद्युतीकरण हुँदा विस्तार भएका विजुलीका तारहरु कस्ने, फेर्ने जस्ता कामहरु अघि बढाइएको छ । ‘झोल्लिएका तारहरुलाई तन्काउने, तार पातलो छ भने फेर्ने, बाङ्गो भएको पोललाई सिधा बनाउने काम भइरहेको छ’– वितरण शाखा प्रमुख रावतले भन्नुभयो– ‘अहिले मर्मतको काम भइरहेको छ । आगामी वर्ष बजेटको व्यवस्था गरेर पुराना तारहरु समेत फेर्नेगरी कार्यक्रमको रुपमा प्रस्ताव गरेर पठाउने छौं ।’

विद्युत प्राधिकरण लमही वितरण केन्द्रले राप्ती गाउँपालिकाभित्र र अन्य पालिकाहरुमा अहिले विद्युतीय मर्मतको काम शुरु गरेको छ । तार लत्रिएको, झुण्डिएको स्थानहरुको पहिचान गरेर मर्मत गर्ने गरिएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले प्राधिकरण लमही वितरण केन्द्रले विजुलीका पोल सार्ने, तार तन्काउने, पातलो तार फेर्ने जस्ता काम गर्न थालेको जानकारी दिनुभयो ।

‘विद्युतीय दुर्घटना भएर कहिले भुल्न नसक्ने क्षति भयो । यस घटनाले ठूलो पाठ सिकाएको छ । अब यस्ता दुर्घटना नहुन् भन्ने कामना छ’– उहाँले भन्नुभयो– ‘विद्युत नभई नहुने तर यसको जोखिम पनि बढी हुने भएकाले जोखिमहरुलाई कम गर्दै लैजानुपर्ने आवश्यकता छ । यसमा पनि ख्याल गर्नुपर्ने छ ।’ जिल्ला विपत् व्यवस्थापन समितिमा समेत विद्युतीय दुर्घटना न्यूनीकरणको विषयले प्रवेश पाएको र जिल्लाका दश स्थानीय तहमै विशेष निगरानी, मर्मतको काम प्राधिकरणले गर्नुपर्नेमा जोड दिइएको छ ।

विद्युतीय दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक अपिल

नेपाल विद्युत प्राधिकरणले मसुरियामा विद्युतीय दुर्घटना भएपछि दुर्घटना न्यूनीकरण गर्न देशभर सार्वजनिक अपिल गरेको छ । देशका विभिन्न स्थानमा विद्युतीय दुर्घटनाले गर्दा जनधनको क्षति भएको घटनाप्रति प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारणमा आवश्यक सतर्कता अपनाउन अपिल गरेको हो । पोल, टावर, स्टे तार जस्ता विद्युतीय संरचना हात वा फलामले नछुने, विद्युतीय तार लत्रिएको वा चुँडिएको देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तत्काल खबर गर्ने, विद्युतीय प्रणालीमा रहेका इन्सुलेटर, तार जस्ता उपकरणहरुमा कुनै क्षति भएको देखिएमा वा विद्युत लाइन नजिक रहेका बाँस, लहरा वा रुखका हाँगाहरुले विद्युतीय लाइनमा छुने अवस्था देखिएमा पनि कार्यालयमा जानकारी दिने, रुखका हाँगाहरु हटाउँदा तारमा छुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउने बारेमा सार्वजनिक अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया