दशरथ घिमिरे

दाङ– नेपाल र भारत दुवै देश यस बर्ष चैत २३ गतेबाट सुरु हुने देवीपाटन महायात्रालाई भब्य बनाउन भब्य तयारीमा जुटेका छन्। नेपालको तर्फबाट गोरक्षपात्र देबता सिद्धरत्ननाथ मन्दिर चौघेरा र भारतको तर्फबाट माँ पाटेश्वरी मन्दिर तुलसीपुरले देवीपाटन महायात्रालाई भब्य बनाउन तयारमा जुटेका हुन्।
विसं ८०९ देखि देवीपाटनको यात्रा चल्दै आएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको प्रयासबाट यस बर्ष महायात्रा हुन थालेको हो।

आइतबार भारतको तुलसीपुरमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा महायात्राबारे जानकारी गराइएको हो। गोरक्षपात्र देवता सिद्धरत्ननाथ मठ महायात्रा मुल आयोजक समितिका अध्यक्ष सुरतनाथ योगी र भारत तुलसीपुर स्थित माँ पाटेश्वरी मन्दिरका मठाधिस मिथलेशनाथ योगीले महायात्रालाई भब्य बनाइने र यात्रामा सहभागी हुन सबैलाई अपिल समेत गरे।‘प्राचिन समय देखी यसैगरी यात्रा चल्दै आयो। समय परिस्थतिअनुसार सानो तथा ठूलो रुपमा यात्रा गरियो। तर, यस बर्ष यात्रालाई महायात्राको रुपमा निकाल्न थालेका छौं’महायात्रा मूल आयोजक समितिका अध्यक्ष सुरतनाथ योगीले भने,‘यो यात्राले नेपाल–भारतको सम्वन्धलाई थप उचाइ दिनेछ।’

माँ पाटेश्वरी मन्दिरका मठाधिस मिथलेशनाथ योगीले देविपाटन धार्मिक यात्रा मात्रै नभएर दुवै देशको सम्वन्धलाई बलियो बनाउने सांस्कृतीक यात्रा समेत भएको बताए।‘देविपाटन यात्रा एउटा धार्मिक यात्रा मात्रै होइन। यो यात्राले दुवै देशको सम्वन्धलाई बलियो बनाउछ। सांस्कृतीक र सम्वन्धको यात्रा पनि हो’उनले भने,‘यो यात्रालाई भब्य र बैभव बनाउन सबै तयारी पुरा भएको छ। शोभायात्रालाई भब्य स्वागत गर्नेछौं।’
अप्रिल पाँच तारिख अर्थात चैत्र २३ गते साझ शुक्रबार दाङ घोराहीको सिद्ध रत्ननाथ मठ चौघेराबाट बिशेष तामझामका साथ रथयात्रा सहित महायात्रा सुरु हुने छ। चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिका अन्र्तगत पर्ने चौपट्टामा केही समय पुजा आरधान र बिश्रामपछि लमहीका लागि अघि बढ्नेछ। यात्राको टोलीले लमही नगरपालिका–६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाई गर्नेछ। २८ गते देउपुरबाट कोइलाबासको लागी यात्रा निस्कनेछ। साबिकको पुराना बिश्राम स्थल जमुनीबासमा एकछिनको बिश्राम पछि साझ कोईलाबासमा एक रात बिश्राम हुने छ। चैत्र २९ बिहान ४ बजे कोईलबासबाट भारतको जनकपुरको लागी यात्रा निस्कने छ। २९ र ३० गते जनकपुरमा बिश्राम हुने छ। बैशाख १ गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देबिपाटनका लागी बिशेष तामझाम सहित गोरक्ष पात्रदेबताको रथयात्रा सहितको महायात्रा प्रस्थानहुनेछ।

नयाँ बर्ष २०८१ बैशाख १ गते बिहान ९ बजेसम्म देबिपाट पुगिने कार्यतालिका रहेको छ भने बैशाख ६ गतेसम्म देबिपाटको बसाईपछि ६ गतेको रात्रिकालिन समयमा देबिपाटबाट पुन रत्ननाथ मन्दिर चौघेराको लागि फिर्ती हुने कार्यक्रम छ। सात गते पुनः रत्ननाथ मन्दिर चौघेरामा पात्रदेबतासहितको टोली आईपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने जनाइएको छ। २०५२ साल सम्म पैदल यात्रा गर्ने गरिन्थ्यो।
द्धन्दकाल सुरुभएपछि यात्रा खुम्चिन पुग्यो। बसबाट सुरु भइरहेको यात्रा कोरोनाकालमा केही प्रभावित हुन पुग्यो। फेरि अव परम्परागत रुपमा यात्रालाई निकाल्ने प्रयास गरिएको छ। जसमा प्रदेश सरकारले साथ दिएपछि महायात्राको लागि अवसर जुट्न पुगेको छ।

तपाईको प्रतिक्रिया