बासुदेव न्यौपाने

देउखुरी । माओवादी र कांग्रेस बिचको गठबन्धन अन्त्य गर्दै नयाँ गठबन्धनको सरकार बनिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गरी एमाले लगायतका दलसँग नयाँ गठबन्धन बनाएपछि संघीय सरकारमा हलचल नै मच्चियो । यतिबेला संघीय सरकारमा मात्रै होइन, प्रदेश सरकारहरूमा पनि हलचल उत्पन्न भएको छ । संघीय सरकारमा प्रचण्डकै नेतृत्वमा नयाँ मन्त्रीमण्डलले पुर्णता पाईसकेको छ । केन्द्रमा मन्त्रीहरू मात्रै फेरिने देखिए पनि प्रदेशहरूमा भने मुख्यमन्त्री नै परिवर्तन हुनसक्ने देखिएको छ ।
संघीय सरकारको गठबन्धनले लुम्बिनी प्रदेशमा समेत असर पार्ने निश्चित जस्तै छ । कांग्रेसका डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री छन् । प्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेसँगै यस प्रदेशको सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ भने मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त गर्ने काम भइसकेको छ ।
लुम्बिनी प्रदेशममा अब चौधरीलाई संघीय गठबन्धनमा रहेका दल बाहेकको समर्थन जुटाउनु पर्ने भएको छ । तर यसको सम्भावना कस्तो छ ? भन्ने सबैको चासो बनेको छ । मुख्यमन्त्री चौधरीलाई सत्ता बचाउन निकै चुनौती पूर्ण छ ।
उनले राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, लोसपा ३, राजमो १ र स्वतन्त्र १ सांसदहरुको मत सुनिश्चित गर्नुपर्छ । यति गर्दा पनि ४३ सिट मात्र हुन आउछ । लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । अर्कोतिर एमाले २९, माओवादी केन्द्र ११, जसपा ३ र एकीकृत समाजवादी १ बहुमत नजिक रहेकाले मुख्यमन्त्री चौधरीले थप एक वा दुई दलको मत लिन सके पुग्छ ।
तत्कालिन एमालेका मुख्यमन्त्री लिला गिरी कांग्रेस, माओवादी लगायतको गठबन्धन पछि अल्पमतमा परेका थिए । त्यसपछि कांग्रेसका डिल्लीबहादुर चौधरी २०८० बैसाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा बनेका थिए । मुख्यमन्त्री चौधरी पदमुक्त भएमा यो प्रदेशमा एमालेको सरकार गठन हुनसक्छ । किनकि, अघिल्लो वर्ष एमाले र माओवादी केन्द्र लगायतका दलबीच गठबन्धन हुँदा पनि त्यस गठबन्धनबाट एमालेका लीला गिरी नै मुख्यमन्त्री भएका थिए । यसपटक पनि उनैले अवसर पाउने सम्भावना देखिन्छ । यद्दपी मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बाँकी नै छ ।
माओवादी केन्द्र पनि यस पटक मुख्यमन्त्रीको दावी गर्दै आएको छ । तर मुख्यमन्त्री एमालेले नै पाउने निश्चित जस्तै रहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख र सभामुख दुबै माओवादी केन्द्र रहेको हुदा एमालेले नै मुख्यमन्त्री पाउने एक नेताले बताए । तर पनि लुम्बिनी प्रदेशमा सरकार कसले बनाउने भन्ने विषयमा नेताहरु केन्द्रको निर्णयको प्रतिक्षामा रहेका छन् ।

तपाईको प्रतिक्रिया