
दशरथ घिमिरे
दाङ – लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते गर्न लागिएको ‘लौरेट्स एण्ड लिडर्स’ चौथो शिखर सम्मेलन रद्द गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको छ। केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै लुम्बिनी प्रदेश सरकार शिखर सम्मेलन आयोजना गर्न नसक्ने अवस्थामा पुगेपछि रद्द गर्ने निर्णयमा पुगेको हो।
लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रुपमा सम्मेलन आयोजना स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए। ‘विशेष कारणबस शिखर सम्मेलन आयोजना स्थगन गर्ने अवस्था आयो,’ उनले भने, ‘सरकारले तयारी अवस्थामा रहे पनि विशेष कारणले रोक्नुपर्ने अवस्था रह्यो।’
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख योजना र प्रदेश सरकारको आयोजनामा बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लौरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ हुन थालेको थियो।
शिखर सम्मेलनको सफलताले सम्पूर्ण लुम्बिनीबासीको शिर उच्च बनाउने र गरिमा बढ्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठासमेत अभिवृद्धि हुने विश्वास गरिएको थियो। तर, सत्ता समीकरणमा आएको फेरबदलले अब लुम्बिनीमा एमाले–माओवादीलगायतका साना दलको सहभागितामा सरकार बन्ने निश्चित भएको छ।
शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका राष्ट्र प्रमख, सरकार प्रमुख वा पूर्वप्रमुख, नोबेल शान्ति तथा अन्य विधाका पुरस्कार विजेताहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्वव्यापी व्यावसायिक नेताहरू, विश्चव्यापी निर्णय–निर्माताहरू, विपन्नताबाट माथि उठेका अनुभवी युवाहरूको सहभागिता हुने बताइएको थियो।
सम्मेलनले बालबालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तराष्ट्रिय प्रतिबद्धता प्रवर्द्धन हुने, अन्तर्राष्ट्रिय रुपमै बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचारप्रसार हुने आशा गरिएको थियो।
नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१९९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेहृम बोवी, टुवाको कर्मयान, त्यस्तै गरी सन् २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) आउने तयारी थियो।
त्यस्तैगरी अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गोलगायतको पनि सहभागिता रहने जनाइएको थियो।
शिखर सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारले आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा बुद्धजन्मस्थलमा नोबेल पुस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्तर्राष्ट्रिय ‘लौरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन आयोजना गर्न ७ करोड १० लाख बजेट समेत विनियोजन गरिएको थियो।

तपाईको प्रतिक्रिया