दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सलाई

दाङ – दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो। पहिलो संस्करणको उपाधि घोराही टाइगर्सले जितेको थियो।

 

दंगाली लायन्सले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको तुलसीपुर रोयल्सले १६ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६२ रन बनाएपछि उपाधि उपाधि दंगालीले जितेको हो।

तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले २० रन, मार्की खेलाडी अमरसिंह रौटेलाले ११ रन बनाउँदा अरु ब्याटरले सम्हालिएर खेल्न नसक्दा ६१ रनमा अलआउट हुन पुग्यो।

सुस्त सुरुवात गरेको तुलसीपुरले पहिलो विकेट पाँच दशमलव २ ओभरमा विपिन रावललाई ६ रनमा गुमाउँदा टीमको खातामा केवल १० रन बनेको थियो। प्रकाश जैसीको बलमा लामो सट हान्ने क्रममा दंगालीका कप्तान विपिन खत्रीको हातबाट क्याच आउट भएसँगै तुलसीपुरको विकेट पतन लगातार गयो।

तुलसीपुरका लागि विराटसिंह भण्डारीले ६ रन, भुवन कार्कीले ५ रन, नवीन विकले ४ रन, गोपाल केसीले ३ रन, स्माइल अन्सारीले २ रनको योगदान दिए।

दंगाली लायन्सका लागि बसिर अहमदले अलराउण्डर प्रदर्शन गर्दै ३ विकेट लिए। प्लेयर अफ द म्याच बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए। यस्तै, विपिन खत्री, वीरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २–२ विकेट तथा शंकर रानाले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो। पहिलो बलमै सुरुवाती ब्याटर सन्तोष कार्की रन आउट हुँदै पेभेलियन फर्किएपछि केही दबाबमा देखिएको दंगालीका लागि कप्तान विपिन खत्रीले कप्तानी पारी खेल्दै अविजित सर्वाधिक ४५ रन बनाएपछि टीम सहज अवस्थामाा पुगेको थियो।

३८ बलमा २ चौका र ३ छक्काको मद्दतमा दंगालीका लागि खत्रीले पारी उकासे। यसैगरी बसिर अहमदले २४ रन, अंकित बुढाले ११ रन बनाउँदा वीरबहादुर घर्तीले ४ रन, किशन भारती, सनम श्रेष्ठ, र शंकर रानाले २–२ रनको योगदान दिए। बलिङतर्फ तुलसीपुर रोयल्सका अमरसिंह रौटेलाले ३ विकेट, रुपेशसिंह, भुवन कार्की, दिवान पुन र नविन विकले समान १–१ विकेट लिए।

६ दिन चलेको प्रतियोगिताको उपाधि विजेता दंगाली लायन्सले नगद २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल पाएको छ भने उपविजेता तुलसीपुर रोयल्सले पनि नगद १ लाख रुपैयाँसहित ट्रफी मेडल पाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीका रुपमा प्लेयर अफ द सिरिज दंगाली लायन्सका बसिर अहमद भए। यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदीयमान खेलाडीमा देउखुरी वारियर्सका शुभम खनाल भए। प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदीयमान खेलाडीले समान १०–१० हजार रुपैयाँ प्राप्त गरे।

पुरस्कार वितरण दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यमा भएको हो।

तपाईको प्रतिक्रिया