दाङ – लमही नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ अन्तर्गत माध्यमिक विद्यालयतर्फको पदक तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगितामा देउपुरस्थित गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल २६ पदक जित्दै नगर प्रथम स्थान हासिल गरेको छ। गोरखाले लगातार तेस्रो पटक रनिङ शिल्डको उपाधि जित्न सफल भएको प्रिन्सिपल लोकमान रिजालले जानकारी दिए।
यसैगरी आदर्श माध्यमिक विद्यालय देउपुरले ४ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १९ पदकसहित नगर द्वितीय स्थान प्राप्त गरेको छ।
माध्यमिक विद्यालय फल्कापुरले ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर तृतीय स्थानमा चित्त बुझाएको छ भने रोजी बड्स माध्यमिक विद्यालय कोलहीले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर चतुर्थ स्थान हासिल गरेको छ। ज्ञान ज्योती माध्यमिक विद्यालय लमहीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै नगर पाँचौँ स्थानमा रहेको छ।
नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
खेलकुदमार्फत अनुशासन, प्रतिस्पर्धा र प्रतिभा विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ। शनिबार शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया