दशरथ घिमिरे

देउखुरी । लमही नगरपालिकाको हल सहभागीले खचाखच भरियो । निर्धारित समयभित्रै सहभागीले हल भरिन पुग्नु आजभोलि विरलै देखिन्छ । औपचारिक कार्यक्रममा धेरै बेर नअडिने जनप्रतिनिधिदेखि सरोकार राख्ने निकायका प्रतिनिधिहरुले लामो छलफलमा भाग लिए । छलफल दिनभर चल्यो । प्रस्तुतिकरण पनि धैर्य गरेर सुनियो । छलफल घनीभूत भयो । अख्तियारको कार्यक्रम नभएको भए यति सहभागी जुटाउन मुस्किल पथ्र्याे’– सहभागी एकजनाले भने– ‘सबैलाई डर अख्तियारकै हो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको लागि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई अभिमुखीकरण गर्न थालेको छ । योजना निर्माण गर्नेदेखि कार्यान्वयन तहसम्म सुशासन कायम राख्ने जिम्मेवारीमा रहेका निकायहरुलाई प्राथमिकता दिएर अभिमुखीकरण गर्न थालिएको हो । दाङ जिल्लाका दशवटै पालिकालाई लक्षित गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्ज कार्यालयले यस प्रकारको अभिमुखीकरण गर्दै आएको छ । शनिबार लमही नगरपालिकामा पालिकास्तरीय अभिमुखीकरण गरिएको छ ।
अख्तियारमा उजुरी पर्ने क्रम भने विगतको तुलनामा बढ्दै छ । जसमा स्थानीय तहका उजुरीको संख्या धेरै छ । ‘नियमअनुसार काम गर्ने हो भने अख्तियारसँग डराउनैपर्दैन । हामीले पनि अख्तियारले कसरी काम गर्छ भनेर जानकारी दिन यसैगरी हिडेका छौं’–अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्ज कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले भन्नुभयो– ‘नियम कानुन मिचेर सार्वजनिक पद धारण गरेको व्यक्तिले व्यक्तिगत लाभ प्राप्तिको काम गर्छ भने त्यसमा अख्तियार दुरुपयोग भएको मानिन्छ । यस प्रकारका कामहरु कहीं कतै नहोस् । सुशासन कायम होस् भन्ने मान्यता अख्तियारले राख्छ ।’
दाङका उजुरी दुई सयबढी
अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ । दाङ जिल्लाको हाल अख्तियारमा दुई सय २८ उजुरी छन् । जसमध्ये गत आर्थिक वर्षका एक सय नौ र यस आर्थिक वर्षका एक सय १९ गरेर दुई सय २८ उजुरी रहेका छन् । अख्तियारमा परेका उजुरीमध्ये गत आर्थिक वर्षका ४४ वटा र यस आर्थिक वर्षका ५२ वटा उजुरी फछ्र्याैट भएका छन् । अब गत आर्थिक वर्षका ६५ र यस आर्थिक वर्षका ६७ वटा उजुरी बाँकी देखिएका छन् । जसमध्ये स्थानीय तहमा उजुरीको संख्या धेरै छ । स्थानीय तहका एक सय १६ उजुरी छन् ।
घोराही उपमहानगरपालिकामा गत र यस वर्षको गरी २० वटा उजुरी छन् । १३ वटा फछ्र्यौट हुन बाँकी छन् । गढवा गाउँपालिकाको गत र यस वर्षको गरी १७ वटा उजुरी छन् । जसमध्ये ११ वटा फछ्र्यौट हुन बाँकी छन् । दंगीशरण गाउँपालिकाका १६ वटा उजुरी छन् । जसमध्ये छवटा फछ्र्याैट हुन बाँकी छन् । राजपुर गाउँपालिकाका १३ वटा उजुरी छन्् । जसमध्ये छवटा फछ्र्यौट हुन बाँकी छन् । तुलसीपुर उपमहानगरपालिकाका १३ उजुरीमध्ये आठवटा फछ्र्यौट हुन बाँकी छन् । लमही नगरपालिकाका ११ उजुरीमध्ये पाँचवटा फछ्र्यौट हुन बाँकी छन् । बंगलाचुली गाउँ‘पालिकाका आठवटा उजुरीमध्ये चारवटा फछ्र्यौट हुन बाँकी छन् । शान्तिनगर गाउँपालिकाका आठवटामध्ये पाँचवटा फछ्र्यौट हुन बाँकी छन् । बबई गाउँपालिकाका छवटा मध्ये चारवटा फछ्र्यौट हुन बाँ‘की छन् । राप्ती गाउँपालिकाका चारवटा उजुरीमध्ये दुईवटा फछ्र्यौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ ।
सुशासनका लागि भूमिका बढाउन जोड
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सुशासन कायम गर्न जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँ‘ले जनप्रतिनिधिको मात्रै एकल जिम्मेवारी नरहेको भन्दै नागरिक समाजले समेत सुशासन कायम गर्न आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभयो । ‘कसैले अनुचित काम गर्छ भने हामीलाई सिधैं भन्नुहोस्, हामी एक्सन लिन्छौं’– उहाँले भन्नुभयो– ‘तर हुँदै नभएका कुराहरु पनि भए भनेर गुनासो गर्नु राम्रो होइन । यसले हामी कसैलाई फाइदा गर्दैन ।’ लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले नियम कानुनमा टेकेर कसैको दबाब प्रभावमा नपरेर कार्यसम्पादन भइरहेको जानकारी दिनुभयो ।
सहभागीहरुले सार्वजनिक सेवा प्रदायक निकायहरुमा नीतिगत भ्रष्ट आचरणहरु बढ्दै गएको र यसलाई रोक्नको लागि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अख्तियार नेपालगञ्ज कार्यालयका प्रमुख गणेशबहादुर अधिकारी र इञ्जिनियर लक्ष्मण बहादुर केसीले प्रस्तुति राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया