लमहीमा व्यापारिक महोत्सवः देउखुरीको एकीकृत विकासमा जोड

देउखुरी । लमहीमा ‘दोस्रो देउखुरी कृषि, पर्यटन, उद्योग तथा व्यापारिक महोत्सव २०८०’ शुरु भएको छ ।

 

लमही चेम्बर अफ कमर्सको आयोजनामा शुरु भएको महोत्सव माघ १७ गतेसम्म चल्ने छ । महोत्सवको दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष विकास अग्रवालले उद्घाटन गर्नुभयो । आर्थिक विकासका लागि महोत्सवले महत्वपूर्ण योगदान गर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । ‘मेला महोत्सवले स्थानीय सामग्रीको बजारीकरण र आर्थिक चलायमानमा योगदान पु¥याउँछ’– उहाँले भन्नुभयो– ‘देउखुरीको विकासको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’ उहाँले समग्र देउखुरीको विकासको लागि कोइलावास नाकालाई सुचारु गर्दै पूर्व–पश्चिम राजमार्ग केन्द्रित व्यापार व्यवसायमा जोड दिनुभएको थियो ।

‘लुम्बिनी प्रदेशले स्वदेशमै रोजगारी दिने कार्यक्रम ल्याएको सुनेको छु । यो कार्यक्रम कार्यान्वयन होस्’– अध्यक्ष अग्रवालले भन्नुभयो– ‘देश विकासको लागि यस्ता कार्यक्रमहरु कार्यान्वयन जरुरी छ ।’ कार्यक्रममा बोल्ने वक्ताहरुले लुम्बिनी प्रदेशको राजधानी भएकाले पनि यहाँ प्रदेशस्तरको व्यापार तथा उद्योगहरुलाई आकर्षित गर्ने सम्भावना भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । युवाहरु विदेशिने क्रम बढेकाले यसले चुनौती थपेको भन्दै स्वदेशमै रोजगारीको अवसरहरु सिर्जना गर्ने कार्यक्रम बनाउन जोड दिइएको थियो ।

कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, नेकपा एमालेका दण्डिराम चौधरी, नेकपा माओवादी केन्द्रका डिलकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवलाल बञ्जाडे, राप्रपाका शोभाकर घिमिरे, एकीकृत समाजवादी पार्टीका वीरबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका दुःखलाल चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव घिमिरे, होटल व्यवसायी समिति लमहीका अध्यक्ष नारायण भुसाल, देउखुरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लिलाराम खनाल, नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष केपी घिमिरे, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डिराम चौधरी, गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीका प्राचार्य लोकमान रिजाललगायतले सम्बोधन गर्नुभएको थियो ।

चेम्बर अफ कमर्स लमहीका अध्यक्ष शीतल भुसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दर्जन बढी झाँकी प्रस्तुत गरिएको थियो । उपाध्यक्ष शशिराम नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार लीला शाह र महासचिव केशव अधिकारीले संयुक्त रुपमा गर्नुभएको थियो । महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका एक सय ५० बढी स्टल रहेका छन् ।

तपाईको प्रतिक्रिया