दाङको राप्ती गाउँपालिकामा चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा शुक्रबार देखि राप्ती गाउँपालिका स्तरीय चौधौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ ।

सर्वोदय माध्यमिक विद्यालयको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरू भएको हो ।

सर्वोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा दाङ क्षेत्र नं. १ का संघीय संसद मेटमणी चौधरीको प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिता शुरु भएको हो ।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सांसद चौधरीले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनु भयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर आपसी मेलमिलापको रुपमा समेत लिन सकिने बताउनुभयो ।

खेल उद्घाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका संयोजक सन्तोष ओली, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगर, पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मदन अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका प्रधानाध्यापक गोविन्द केसीले गर्नु भएको थियो ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गतका २७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरूको सहभागीता रहेको छ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते खेल समावेश गरिएको छ ।

खेल माघ ५ देखि ७ गते सम्म सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको प्राङ्गण र बालकल्याण आधारभूत विद्यालय पहरुवाको खेलमैदानमा चल्ने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया