बासुदेव न्यौपाने
देउखुरी । राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी सृजना कुमाल लालमटिया महोत्सवमा पुग्दा उनलाई फलामबाट बनेका कृषि औजारले ध्यानवासी तान्यो । घरमा चाहिएको खुर्पा रोज्नुभयो । महोत्सवमा उनलाई घरासयी कामको लागि चाहिएको औजार प्राप्त भयो । ‘महोत्सवमा कृृषि औजार राखेको रहेछ । चाहिएको थियो, सजिलो भयो’– उनले भनिन् ‘स्थानीय सामग्रीहरु महोत्सवमा देख्न पाउँदा खुशी लाग्यो ।’

राप्ती उद्योग वाणिज्य संघद्धारा आयोजित लालमटियामा जारी ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने नाराका साथ ‘छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापार, पर्यटन तथा कृषि महोत्सव २०८०’ मा स्थानीय उत्पादन तथा कृषिका सामग्री बिक्री वितरण र प्रदर्शनीमा राखिएको छ । जसले गर्दा स्थानीय उत्पादनका सामग्रीले बजार पाएको छ ।

नवलपरासी निवासी सुक बहादुर विकले व्यावसायिकरुपमा फलामका सामग्री तयार पार्दै आउनु भएको छ । विगत ७ वर्षदेखि विकले यो व्यवसाय गर्दै आएको बताउनु भयो । गाउँगाउँ डुलेर फलामका औजार विक्री गर्दै आउनु भएका विक राप्ती महोत्सवमा कृषि औजारका सामाग्री विक्री वितरणका लागि सुर्खेतबाट आएको बताउनु भयो । ‘यो हाम्रो परम्परागत पेशा हो । यसलाई बजारसँग जोडेका छौं’– उनले भने– ‘खेतीपातीको सिजनमा त धेरै बिक्री हुन्छ । मेला महोत्सवले गर्दा हाम्रा सामग्री बिक्री वितरण भइरहेका छन् ।’
विकले महोत्सवमा फलामबाट बनेका कुटो, कोदालो, सेई, चुलेसी, खुर्पासम्म बनाएर बिक्री गर्दै आउनु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ७ सिसहनियाँका लगनशिल मुन्ज सामाग्री उत्पादन समूहले पनि मुन्जबाट निमार्ण गरिएका सामाग्री प्रर्दशनी तथा विक्रि वितरण गर्दै आएको छ । मुन्जबाट निर्मित सामाग्री खरिद गर्दै राप्ती १ भालुवाङका प्रकाश बुढाथोकीले स्थानिय स्थरमा निमार्ण गरिएको सामाग्री बजारीकरण र प्रवद्र्धनमा महोत्सवले थप टेवा पुर्याएको बताउनु भयो । महोत्सव अवलोकन गर्न आउनेहरुले मुन्जबाट निर्मित सामग्री रुचाएका छन् ।

त्यसैगरी हाम्रो बहुउद्देश्यीय कृषि फार्म राप्ती–२ ले विरुवाहरु प्रदर्शनीमा राखेको छ । बेलौती, ड्रागन फ्रट, नीम, कागती, अंगुर लगायतका विरुवाहरु बिक्री वितरण र प्रदर्शनीका साथै आफ्नै कृषि फर्म सरुमारानी गाउँपालिका १ मा उत्पादन गरिएका बेलौतीसमेत विक्रीका लागि राखिएको छ ।
राप्ती ४ मौरीघाटमा रहेको बहुउद्देश्यीय कृषि तथा च्याउखेती फर्मले पनि प्रर्दशनी तथा च्याउ उत्पादनका लागि परालको डल्ला, विउको पोका समेत विक्री वितरण गर्दै आएको छ । महोत्सवमा च्याउ उत्पादनका लागि तयारी परालको डल्ला २ सयका दर विक्री गर्दै आएको दोर्ण जिसीले बताउनु भयो । त्यसैगरी गढवा गाउँपालिका वडा नं. १ का स्थानीय कुमाल समुदायले उत्पादन गरेका माटोको भाँडासमेत महोत्सव स्थलमा राखिएको छ ।

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकराप्ती उद्योग वाणिज्य संघले जनाएको छ । लालमटियामा जारी महोत्सवले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र प्रवद्र्धनमा मद्दत गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए । ‘स्थानीय सामग्रीकै बजारीकरण गर्ने उद्देश्य हो । हामीले कृषि तथा स्थानिय उत्पादनका सामाग्री प्रर्वद्धनका लागि २० वटा स्टल छुट्टाएका छौं ।
कृषि महोत्सव भनियता पनि कृषि र स्थानिय उत्पादनहरुले स्थान नपाउदा पछिल्लो समय महोत्सव विवादित हुदै गएका छन् । तर लालमटियामा जारी छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापार, पर्यटन तथा कृषि महोत्सवमा कृषि र स्थानिय उत्पादनको उपस्थिती राम्रो देखिएको छ । महोत्सव माघ ८ गतेसम्म जारी रहेको आयोजक राप्ती उद्योग वाणिज्य संघले जनाएको छ ।


तपाईको प्रतिक्रिया