भालुवाङ दुर्घटना: ट्राफिक छलेर तीव्र गतिमा गुडेकाे थियाे बस

दाङ- भालुवाङमा दुर्घटनामा परेकाे बसले ट्राफिक छलेकाे पाइएकाे छ। राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी छ।

 

ट्राफिक प्रहरीका अनुसार बस नेपालगञ्जबाट काठमाडौंकाे लागि अघि बढ्दै गर्दा भालुबाङ पुलचाेकमा ट्राफिक जाँच थियाे। दुईवटा बस सँगै थिए। जसमध्ये एउटा बस चेकिङमा अडियाे। अर्काे बस तीव्र गतिमा अघि बढ्याे।

ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेकाे बस पुलमा प्रवेश गरेलगत्तै फलामकाे रेलिङ भाँचेर दक्षिण किनारमा खसेकाे स्थानीय पनि बताउँछन्।

‘दुर्घटना हुनेजस्तो स्थान त हाेइन। तर, बस खस्याे’, स्थानीय अशाेक बेल्वासेले भने, ‘भालुबाङ बजारमा बाटाे फराकिलो छ। तर, पुलमा जाेडिने बेलामा साँघुरो छ। तीव्र गतिमा गुडेकाे गाडी नियन्त्रणमा आउन कठिन छ। हामीले सकेकाे उद्दार गर्‍याैं।’

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन्।

नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ।

तपाईको प्रतिक्रिया