भालुवाङ बस दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे

देउखुरी । दाङकाे भालुवाङमा बस दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्ज्वल सिंहका अनुसार १२ जनाको मृत्यु भएकाे छ ।

 

उद्दारकाे क्रममा ५ जनाकाे शव निकालिएकाे थियाे भने राती १२:३० मा जेसिवीकाे सहायताले थप ७ जनाकाे शव निकालिएको प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट, बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान भएको छ भने अन्य ९ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस बेलुका १० बजे दाङकाे भालुवाङ स्थित राप्ती नदिकाे पुलबाट तल खाेलामा खसेकाे थियाे ।

नेपालगंजबाट काठमाडौं जाँदै गरेकाे भे १ ख ३९१२ नं काे बस दुर्घटना परेकाे हाे । अहिलेसम्म मृतकहरूकाे सनाखत हुन सकेकाे छैन । उनिहरूकाे शव पाेष्टमाटमका लागि लमही अस्पताल पठाइएकाे छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन् । उनीहरु सामान्य घाइते छन् ।

यसैगरी घाइते हुनेका काठमाडौंका ४५ वर्षीय सुवास कार्की, नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, नेपालगञ्जका १८ वर्षीय दशरथ विक, बाँकेका १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन् ।

भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन् भने काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल पठाइएकाे छ । उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् ।

यसैगरी घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन् ।

घाइतेहरूलाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयकाे सहयाेगमा राती १ बजेसम्म उद्दार गरिएको थियाे ।

 

 

तपाईको प्रतिक्रिया