मगरहरुको वृहत जनसभा, मातृभाषा संरक्षण र स्थानीय उत्पादन सरकारको प्राथमिकता: मुख्यमन्त्री

दशरथ घिमिरे

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मगर र थारुहरुको मातृ भाषा संरक्षण र स्थानीय उत्पादन प्रवद्र्धनको काम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल मगर संघले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–३ मा शनिबार गरेको वृहत जनसभालाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी थारु र मगरहरुकै क्षेत्र भएकाले पनि सरकारको प्राथमिकता हुने बताउनुभएको हो । उहाँले थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन मेरो तर्फबाट पहल हुन्छ’– उहाँले भन्नुभयो– ‘सरकारले यो विषयलाई प्राथमिकता दिन्छ ।’

मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनको बजारीकरण गर्ने जिम्मा पनि प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थारु, मगरले उत्पादन गर्ने स्थानीय मदिराको बिक्री वितरण र ब्राण्डिङ गर्न सरकारले काम गरिरहेको जानकारी दिनुभयो । ‘कोदो, अनदी, मौवाबाट बनाइने स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने काममा प्रदेश सरकार लागेको छ । यसबाट राम्रो आम्दानी गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘कसैले स्थानीय उत्पादित मदिरा नष्ट गर्छ, दुःख दिन्छ भने प्रदेश सरकारले एक्सन लिन्छ । कसैले दुःख दिए हामीलाई भन्नुस ।’

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बलिदानको जगमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न जरुरी रहेको बताउनुभयो । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, लोकतन्त्र संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको संस्थागत विकास र संरक्षणको लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । ‘परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा अहिलेको प्रमुख सवाल हो’– उहाँले भन्नुभयो– ‘यसको संरक्षणमा तपाईं हामीले फेरि खबरदारी गर्नुपर्ने बेला आएको छ ।’

नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले उत्पीडन र बहिष्करणमा परेका समुदायले उठाएका हरेक जायज माग सम्बोधनको लागि पार्टीको तर्फबाट सकारात्मक भूमिका हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उत्पीडनमा परेका समुदायको न्यायका लागि, अधिकारको लागि हामीले ध्यान दिन्छौं’– उहाँले भन्नुभयो– ‘संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था बिरुद्धका आवाज बिरुद्ध फेरि एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’

यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले मगर समुदाय देशको पहिचान भएको बताउनुभयो । उहाँले लोक संस्कृतिको संरक्षण र जगेर्ना गर्न अतुलनीय भूमिका रहेकाले सरकारले मगर समुदायको कला संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि छन्द मगरले देशको बलियो पहिचान बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गैरमगर र गैरथारुहरु समेत उत्साहित हुनुपर्ने उल्लेख गर्दै राष्ट्रियता बलियो बनाउने काममा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

जनता समाजवादीका प्रदेश अध्यक्ष अशोककुमार यादवले मगर समुदायलाई राजनीतिक अधिकार दिनुपर्ने बताउनुभयो । सभालाई सम्बोधन गर्दै पूर्व संविधानसभा सदस्य रुक्मिणा थारुले शोषण उत्पीडनमा परेकाहरुलाई न्यायको लागि अझै संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षतामा भएको जनसभालाई सम्बोधन गर्ने वक्ताहरुले पहिचानको मुद्दामा सरकारले वेवास्ता गर्न नहुने तर्क गरेका थिए । लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको रुपमा लागु गर्न उनीहरुले माग गरे । हरेक परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिहरुले बलिदान दिने तर उनीहरुले उठाउँदै आएको पहिचान र सामथ्र्यको आधारमा प्रदेश बनाउने लक्ष्यलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै आक्रोश पोखेका थिए । सभालाई समाजवादी पार्टीका हरि घर्ती, नेकपा एकीकृत समाजवादी पार्टीका भोजविक्रम बुढा मगर, नेपाल मगर संघका निवर्तमान अध्यक्ष नवीन रोका मगरलगायतले सम्बोधन गर्नुभएको थियो । जनसभामा देशभरबाट मगर समुदायको उपस्थिति थियो । सभाअघि ¥याली तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । संघका सहअध्यक्ष दलबहादुर विरकटा मगरको स्वागत मन्तब्यबाट शुरु भएको सभाको सहजीकरण महासचिव टेकबहादुर नाम्जाली मगरले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया