
तुल बहादुर कवँर मगर
देउखुरी । पूर्व जनमुक्ति सेनाहरु द्वारा सञ्चालित जनमुखी सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय बुधबार राप्ती गाउँपालिका वडा नं.८ पिपरी नयाँ बजारमा उद्घाटन गरिएको छ।
दाङ जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरु संगठित भई आर्थिक सम्वृद्वि तर्फ अग्रसर हुने उदेश्यले संस्था स्थापना गरि सञ्चालनमा ल्याइएको हो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार कार्यालयको उद्घाटन गर्नु भएको छ।
कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्टले देशको व्यवस्था परिवर्तन गर्न इतिहास रचेका पूर्व जनमुक्ति सेनाहरु अब सहकारीको माध्यम बाट आर्थिक सम्वृद्धि तर्फ लाग्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले सहकारीलाई उत्पादन सँग जोडी रोजगारी सिर्जना गर्न समेत सुझाव दिनु भएको छ ।
संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर टार्जनले पछिल्लो समय सहकारी संस्था सञ्चालन गर्न विभिन्न चुनौती र विकृतिहरु देखिएतापनि आफूहरूले कुशल र पारदर्शी रूपले सञ्चालन गर्ने बताउनुभयो । सहकारी जिल्ला भरि छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरुको भेटघाट, छलफल र सहकार्य गर्ने थलो सँगै आर्थिक सम्वृद्वीको माध्यम समेत भएको उहाँको भनाइ छ।
जिल्ला भरि एक हजार पाँच सय बढी पूर्व जनमुक्ति सेनाहरु रहेको बताइएको छ। शुरवाती चरणमा सीमित शेयर सदस्य रहे तापनि यसलाई विस्तार गर्दै लैजाने संस्थाका उपाध्यक्ष दिपेन्द्र कुमार घर्ती (प्रभाकर)ले बताउनुभयो ।
संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर(टार्जन)को अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरुको सहभागी रहेको थियो ।
संस्थाका संस्थापक शेयर सदस्य परिमान बुढा मगर (क्षतिज) को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव मान बहादुर शाही (प्रभात)ले गर्नु भएको थियो ।
संस्थाले पहिलो चरणमा शंकर माध्यमिक विद्यालय पिपरीको करिब सात बिघा जग्गा भाडामा लिएर गहुँ तथा केरा खेती शुरु गरेको छ।


तपाईको प्रतिक्रिया