लमहीका एग्राेभेटमा नगरपालिकाको छड्के: ७१ हजार बढीका म्याद नाघेका सामान बरामद

दशरथ घिमिरे

 

दाङ- लमही नगरपालिका-४ गुर्जिहवा निवासी किसान धर्मराज चाैधरीले लमही बजारस्थित एक एग्राेभेटबाट ताेरीकाे बीउ खरिद गरे । उनले २७ कट्ठा जग्गामा ताेरी छरेका छन् । तर, त्याे ताेरीमा दुई प्रकारकाे बीउ पर्याे । एउटा ताेरी फूल खेलिरहेकाे छ भने अर्काे भर्खरै साग खानेगरी उम्रिएकाे छ । एउटै बीउ भनेर खरिद गरिएको ताेरीकाे बीउमा ठगिएको भन्दै उनले नगरपालिकामा गुनासाे पाेखे ।

धर्मराज मात्रै हाेइन अन्य किसानले पनि म्याद नाघेमा बीउबिजन, विषादीसमेत बिक्री हुने गरेकाे गुनासाे गरेपछि पहिलोपटक स्थानीय सरकारले एग्राेभेट पसललाई लक्षित गरेर छड्के बजार अनुगमन गरेकाे छ । अनुगमनकाे क्रममा म्याद नाघेका बीउबिजन र विषादी प्रशस्त मात्रामा फेला परेकाे अनुगमन टाेलीमा सहभागी देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए ।

चार वटा एग्राेभेटबाट ७१ हजार ६६ रुपैयाँ बराबरको बीउबिजन, विषादी, औषधीहरू बरामद गरिएकाे छ । नगरपालिकाले यसरी बरामद गरेकाे बीउबिजन, विषादीहरू खाडल गनेर गाडेर नष्ट गरेकाे अनुगमन टाेलीका संयाेजक लक्ष्मी सुवेदीले जानकारी दिइन् ।

टाेलीले बगार बाबा एग्रो भेट सेन्टरबाट तीन हजार सात सय, देउराली एग्रो भेट सेन्टरबाट १२ हजार दुई सय ४५, लालीगुँरास एग्रोभेट सेन्टरबाट १७ हजार ७९०, एस.एस. बीउबिजन सेन्टरबाट ३७ हजार ३३१ रुपैयाँ गरी जम्मा ७१ हजार ६६ रुपैयाँ बराबरकाे उत्पादन मिति, उपभोग्य मिति र मूल्य नलेखिका म्याद सकिएका बीउबिजन, म्याद सकिएका किटनासक औषधी जफत गरेकाे थियाे ।

अनुगमन टाेलीमा कृषि शाखा प्रमुख गंगा चाैधरी, कमलराज चाैधरी, पशु शाखामा कार्यरत संजय श्रेष्ठ, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, वडा प्रहरी कार्यालय लमहीका पूर्णबहादुर श्रेष्ठ लगायतकाे सहभागीता थियाे ।

तपाईको प्रतिक्रिया