एमालेले साेध्याे लुम्बिनी प्रदेश सरकारलाई १३ प्रश्न, किन बढिरहेछ बेथिति र मनपरी?

दाङ- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको तर्फबाट प्रदेश सरकारलाई गम्भीर आराेप लगाउँदै विभित्र प्रश्न साेधेकाे छ।

प्रदेशमा कांग्रेस-माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरी बढेकाे भन्दै गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई प्रश्न साेधेर जवाफ माग गरेकाे छ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लीला गिरिकाे नेतृत्वमा पुगेकाे एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीलाइ ज्ञापनपत्र बुझाएको हाे।

अहिलेको सरकारका काम गराइ र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्वत्र गुनासो चुलिएको, प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको, संघीयताको कार्यान्वयन भएसँगै गठन भएको लुम्बिनी प्रदेश सरकारले विसं. २०७४ सालमै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधारहरू तय गर्दै तिनलाई कार्यान्वयन गर्ने चरण सुरु भइसकेको तर, सत्ता गठबन्धन फेरिएसँगै महत्त्वपूर्ण योजनाहरूलाई अलपत्र पार्ने काम भएकाे, समृद्धि हासिल गर्न सकिने गरी दीर्घकालीन सोंचका साथ कैयौं कार्यक्रमहरू सञ्चालन गरिएका तर, तिनलाई समेत अहिलेको गठबन्धन सरकारबाट रोक्ने काम भएकाे ज्ञापनपत्रमा उल्लेख छ।

दिर्घकालीन याेजना राेकिँदा कैयौं महत्त्पपूर्ण योजना प्रभावित भएकाे, अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएकाे, खानेपानी, स्वास्थ्यजस्ता अति जरुरी क्षेत्रमै बजेट कटौती गर्ने र योजना रोक्ने काम भएको, पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको समग्र विकासमा पर्न गएकाे प्रमुख प्रतिपक्ष दलकाे आराेप छ।

संसदीय काममा महत्त्वपूर्ण मानिने प्रदेश सभामा विषयगत समितिहरु हालसम्म गठन नै नगरिएको, समितिका नाम मात्रै घोषणा गरेर सरकारले त्यसै रोकिराखेको, प्रदेशसभाका बैठकहरू नचलेका समयमा मिनीसभाका रूपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरूलाई आजसम्म नेतृत्वविहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेकाे धारणा छ।

सरकारले प्रतिपक्षी दलसँग विगतमा गरेका विभिन्न समसामयिक विषयका सहमतिहरुको कार्यान्वयन गर्नेतर्फ पनि हालसम्म तदारुकता नदेखाएको, एकातिर सरकारबाट सेवाप्रवाह प्रभावकारी नहुनु, प्रदेश सभाका विषयगत समितिहरू नेतृत्वबिहीन बनाइनु, बेथिति र मनपरीलाई आत्मसात गरिनुले सरकारका कार्यशैलीले जनतामा निराशा मात्रै बढाइरहेको दावी गरिएको छ।

यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमबारे घोर विरोध गरिएकाे छ। यस बारेमा सरकारको धारणा माग गरिएको छ।

तपाईको प्रतिक्रिया