
तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाको सभाहल मसुरीयामा सम्पन्न गरेको छ।
सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो।
कार्यक्रममा भर्ना हुन चाहाने ६० जना भन्दा बढी युवायुवतीहरुको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई रणसिंह दल गण अर्जुन खोला लमहीका मेजर दिपक बुढाथोकी र इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले सुरक्षा निकायको तह ,छनोट प्रक्रिया, आवश्यक शैक्षिक योग्यता, शारीरिक अवस्था, उमेर समूह, उचाइ, तौल, खुल्ला प्रतियागितात्मक परिक्षाको लागि पाठ्यक्रम, उनीहरूले प्राप्त गर्ने सेवा सुविधा लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सुरक्षा निकायमा भर्ना हुन मेहनत, सकारात्मक सोच र आत्मविश्वास हुनु पर्ने बताउनुभयो ।
उहाँले यस कार्यक्रमले युवायुवतीहरुलाई सुरक्षा निकायमा भर्ना हुन थप टेवा पुर्याउने विश्वास व्यक्त गर्दै युवा पुस्ताहरु सुरक्षा निकायमा भर्ना भई जनता र राष्ट्र प्रति समर्पित हुनु पर्ने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमको लागि यस अघि नै पालिकाले पटकपटक सुचना प्रकाशन गरि इच्छुक युवायुवतीहरुको नामावली संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया