
तुल बहादुर कवँर मगर
देउखुरी । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले राप्ती गाउँपालिका वडा नं. ९ मा रहेको माध्यमिक विद्यालय रुपकोटका २ सय ८५ जना विपन्न विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ।
संस्थाले राप्ती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा सँगको समन्वयमा बिहीबार सो सामाग्री वितरण गरेको हो।
संस्थाले उक्त विद्यालयमा बाल विकास देखि दस कक्षा सम्म अध्यनरत १ सय २६ जना विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो कपडा वितरण गरेको छ भने २ सय ८५ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ६÷६ वटा कापी ,५÷५ वटा कलम र १÷१ दर्जन पेन्सिल वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलु सिङ्जाली मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा उक्त सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले विपन्नताकै कारण कुनै पनि विद्यार्थी पठनपाठन बाट बन्चित हुनु नपर्ने बताउनुभयो ।
प्राय पहाडी क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु विपन्न परिवारका हुने भन्दै अध्यक्ष विष्टले त्यस्ता विद्यार्थीहरुलाई पठनपाठनमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै उहाँले सिपी संस्थाले प्रदान गरेको शैक्षिक सामाग्रीले विपन्न विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले गाउँपालिकामा संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको उच्च प्रसंसा गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर ,गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक ,संस्थाका निर्देशक दिनेश राज सापकोटा ,राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य सन्दिप सापकोटा ,माध्यमिक विद्यालय रुपाकोटका निमित्त प्रधानाध्यापक खिम बहादुर ओली ,संस्थाकी रिया चौधरी लगायत विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
संस्थाकी विद्यार्थी संयोजक दिपा चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी महिला शसक्तिकरण संयोजक सरिता चौधरीले गर्नुभएको थियो ।
संस्थाले केही महिना अघि पनि उक्त विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीहरु शैक्षिक सामाग्री प्रदान गरेको थियो भने गाउँपालिकाका अन्य विद्यालयका विपन्न विद्यार्थीहरुलाई समेत विभिन्न सहयोग गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया