दाङ । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीले सरकारमा पठाएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन नयाँ ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
यससँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ फिर्ता हुने भएका छन्।
पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधी नाघेको भन्दै बैठकमा समीक्षा हुँदा वहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको थियो।
नयाँ मन्त्रीको सूचीमा मेटमणी चौधरी शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्यन, शेरबहादुर कुँवर श्रम तथा सामाजिक सुरक्षा र हिरा केसी स्वास्थ्य राज्यमन्त्री रहेका छन्। स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङको बढुवा गरिएको छ।
दाङबाट दुई मन्त्री
एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउने निर्णय गरी नयाँ ५ मन्त्री पठाउने निर्णयसँगै दाङबाट दुई मन्त्रीको नाम सिफारीस गरीएको छ ।
नयाँ मन्त्रीको सूचीमा दाङबाट मेटमणी चौधरी शहरी विकासमन्त्री र हिरा केसी स्वास्थ्य राज्यमन्त्री रहेका छन्। यसअघि मन्त्री बन्ने चर्चा चले पनि अन्तिमसमयमा आएर चौधरीको नाम मन्त्री मण्डलबाट हटाइएको थियो ।

तपाईको प्रतिक्रिया