बाँके दुर्घटनाः ज्यान गुमाउनेको संख्या ७

दाङ । शुक्रबार बेलुका बाँकेमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

 

बर्दिया ठाकुरबाबा नगरपालिका ९ का सामुदायिक वनका सदस्यहरुको भ्रमणटोली लिएर बर्दिया फर्कँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको ढकेरी राप्तीसोनारी ८ शमशेरगञ्ज नजिकै रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोकिँदा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते छन्।

बिग्रिएर सडक छेउमा राखिएको ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ।

यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारु र नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ।

बसमा ४१ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया