दशरथ घिमिरे

देउखुरी । चारवटा घाँस काट्ने मेसिन थिए । तीनवटा बिग्रिएका छन् । एउटा मेसिन चालु अवस्थामा छ । त्यसले पनि राम्रोसँग काम गर्दैन । मैदानमा पलाएको घाँस काट्ने जिम्मा एकजना व्यक्तिलाई छ । मेसिनले काट्न नसकेको घाँस ती व्यक्तिले कहिले सक्लान् ? करोडौं लगानी भइसकेको लमही क्रिकेट मैदानमा मान्छे ढाक्नेगरी घाँस पलाएको छ । घाँस व्यवस्थापन गर्न नसक्दा मैदानमा भएको लगानी खेर जाने अवस्था छ । ‘देशभर क्रिकेट मैदान बनाउने, विस्तार गर्ने भनिरहँदा यहाँ भएको सुविधासम्पन्न क्रिकेट मैदान घाँसे मैदानमा परिणत हुनु दुःखद् विषय हो’– खेलप्रेमी युवराज पौडेलले भन्नुभयो– ‘भएका संरचना, यहाँ भएका सामग्री प्रयोगमा नआउनु, खेलाडीले खेल्न नपाउनु दुःखद् कुरा हो ।’
क्रिकेट मैदान घाँसे मैदानमा परिणत भएको छ । दश करोडबढी लगानी गरेर तयार पारिएको मैदानमा प्रतियोगिता हुन छाडेपछि घाँसे मैदानको रुपमा परिणत भएको हो । क्रिकेट मैदानमा पूर्वाधार थप्दै लगेपनि प्रतियोगिता नहँुदा प्रयोगविहीन बन्न पुगेको छ । क्रिकेट प्रतियोगिता सञ्चालनको विषयमा नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता हुन सकेको छैन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसमेत लमही आएर यसबारेमा संवाद गरे पनि मैदानको जिम्मा क्यानलाई दिने निर्णय नहुँदा समस्या भएको छ । नगर विकास समितिले क्रिकेट संघसँग सम्झौता गर्ने विषयमा निर्णय गरिसकेको छैन । त्यही भएर मैदानको संरक्षण र व्यवस्थापन राम्रोसँग हुन नसकेको हो । ‘क्यानलाई मैदान र त्यहाँ बनेका संरचनाको भोगाधिकार दिएमा हामीले जिम्मा लिन तयार छौं’– दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले भन्नुभयो– ‘क्यानले मैदान लिन नखोजेको होइन, लिन खोजेको हो । प्रत्येक वर्ष एउटा नेशनल गेम गराउन सकिन्छ । भोगाधिकार लिन तयार छौं तर दिनुप¥यो ।’ यो मैदानले क्रिकेट विकासमा मात्रै होइन, आर्थिक विकासको सम्भावनासमेत खोल्ने उहाँले बताउनुभयो ।
नेपालमा फेरि क्रिकेट खेलको पूर्वाधार बनाउन पहल शुरु भएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालले गरेको प्रदर्शनका आधारमा क्रिकेट पूर्वाधारमा लगानी बढाउन सरकारलाई दबाब परेको छ तर दाङको लमहीमा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानेर बनाइएको क्रिकेट मैदानमा खेल सञ्चालन नहुँदा घाँसे मैदानको रुपमा परिणत हुनु विडम्बना भएको खेलप्रेमीहरुको भनाइ छ । राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार बनिसकेको छ । अहिले नियमित खेल हुन नसक्दा मैदान अलपत्र परेको छ । जंगली घाँस उम्रिदा मैदानको स्वरुपनै बिग्रिन थालको हो । राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल सरकार र नेपाल क्रिकेट संघको प्राथमिकतामा मैदान पर्न सकेको देखिदैन । क्रिकेट मैदानको विकासको लागि भएका संरचनालाई प्रयोग गरेर प्रतियोगिता आयोजना गरिनुपर्ने आवाज स्थानीयस्तरबाट उठ्न थालेको छ । ‘यहाँ जति ठूला र धेरै संरचना बनुन तर ग्राउण्डको संरक्षण हुन सकेन भने उपलब्धि शुन्य हुनु हो’– देउखुरी क्रिकेट क्लवका सदस्य प्रेम पुलामीले भन्नुभयो– ‘हामीले ग्राउण्डको संरक्षण गर्न जरुरी छ । मैदानमा जंगली घाँसले समस्या पारेको छ ।’
लमही नगर विकास समितिले आर्थिक वर्ष २०५५/०५६ बाट क्रिकेट मैदानमा लगानी गर्दै आएको हो । ८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनिसकेको छ । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट, कमेन्ट्री बक्स भवनसमेत बनाइएको छ । नगर विकास समितिले मैदानमा लगानी गरेपनि खेल आयोजना गर्न सम्वद्ध अन्य निकायले ध्यान दिनुपर्ने सवइञ्जिनियर तुलसीराम अर्यालले बताउनुभयो । ‘नगर विकास समितिले पूर्वाधार मात्रै बनाइदिने हो । यहाँ खेल खेलाउन अन्य निकायहरु सक्रिय हुनुपर्छ’– अर्यालले भन्नुभयो– ‘संरचना बनेर मात्रै हुँदैन, त्यसको प्रयोगको लागि खेल आयोजना हुनैपर्छ ।’ यो मैदानमा दुईवटा राष्ट्रिय प्रतियोगिता भने सम्पन्न भइसकेका छन् । २०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला क्रिकेट प्रतियोगिता भइसकेको छ । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता भएको छैन ।

तपाईको प्रतिक्रिया