दाङ – दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमाछोरीको उपचारको क्रममा मृत्यु भएको छ। अर्का एक जनाको अवस्था गम्भीर छ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली–४ मैकुटीमा बस्दै आएकी २७ वर्षीया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि उनकी ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो। मृतक ईश्वरी सुनारका श्रीमान् अजय सुनारको पनि अवस्था गम्भीर रहेको छ। उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।
दाङमा साउन महिनायता जंगली च्याउ खाँदा ३० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। गत आर्थिक वर्षमा जंगली च्याउ खाँदा दाङमा ९३ जना बिरामी परेका थिए।

तपाईको प्रतिक्रिया