
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्न आग्रह गरेका छन् । सरकारको गल्तीमा आलोचना गरेर लेख्न आग्रह गर्दै उनले सही मार्गदर्शनमा हिड्नका लागि सहयोग गर्न आग्रह गरे ।

बुटवलमा शुक्रबारदेखि शुरु मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गरे ।
राजनीतिक परिवर्तनमा मिडियाको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताए । ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ, तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ ।’
सम्मेलनमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे लगायतले सञ्चार माध्यमहरुले वहुआयामिक चुनौतिहरुको सामना गरिरहेको उल्लेख गरे ।

सम्मेलनमा लुम्बिनी प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनले मोफसलका मिडियाहरुको सबलिकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरले जानकारी दिए ।

सम्मेलनले प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको साधारणसभा तथा प्रथम अधिवेशन ३ महिनापछि गुल्मीमा गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया