दाङ–घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम बिक पत्रे खोलाले बगाएको तिन घण्टापछि मृत फेला परेका छन्। आइतबार विहान आठ ३० बजे पत्रे खोलामा गएका उनी अबेरसम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

खोजतलास गर्दै जाँदा दिउँसो दुई बजेर ३५ मिनेट जाँदा घोराही–९ तेघरास्थित हापुर खोलाको किनारामा घोप्टो परेर घाँसमा अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बिकलाई विहान आठ ३० बजे शौच गर्न गएको बेला पत्रे खोलाले बगाएको थियो ।
घरका व्यक्तिहरुले खोजतलास गर्दा छाता, चश्मा र लट्ठि फेला परेका थिए। त्यसकै आधारमा त्यहि खोलाले बगाएको हुनसक्ने भनि प्रहरीलाई खबर गरिएको थियो। अस्थायी प्रहरी पोष्ट बेलझुण्डी प्रहरी सहायक निरीक्षक टिकाबहादुर कुवरको कमाण्डमा चार जना र इप्रका नारायणपुरबाट पाँच जना, इप्रका मलवारबाट प्रनानी भिमबहादुर बस्नेतको कमाण्डमा चार जना र प्रहरी चौकी विजौरीबाट प्रहरी नायव निरीक्षक हरि प्रसाद देवकोटाको कमाण्डमा चार गरी १७ प्रहरी खटिएका थिए।
जिल्ला प्रहरी कार्यालबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा ११ जनाको टोली उद्धारको सामाग्रीसहित खटिएको थियो।

तपाईको प्रतिक्रिया