आँँखा पाकेका बिरामी बढे, उपचार लिनेको भीड

दशरथ घिमिरे

 

देउखुरी । राजपुर–४ दुलैया निवासी लोकबहादुर रैदासको आँखा तीन दिन अघिबाट दुख्न थाल्यो । आँखा रातो हुने, पिरो हुने, कचेरा आउने, आँसु बग्ने जस्ता समस्या देखिएपछि रैदास उपचारको लागि लमही आउनुभयो । गाउँका धेरै मानिसमा आँखा पाक्ने समस्या देखिएको भनाइ उहाँको छ । अहिले उपचारपछि निको हुने आशामा रैदास हुनुहुन्छ ।

रैदास मात्रै होइन, अहिले दाङ जिल्लामा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । उपचारको लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दै गएको छ । ‘आँखा पिरो हुने, दुख्ने, कचेरा आउने समस्या भयो’– रैदासले भन्नुभयो– ‘औषधि त भयो, अब निको हुन्छ कि ।’ आँखा बिझाउने, टालिने, कचेरा आउने समस्याले पीडित भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । जिल्लामा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । परिवारको एकजना सदस्यलाई संक्रमण भएमा पूरै परिवारका सदस्य सबै विरामी पर्न थालेका छन् । आँखा उपचारको लागि अस्पताल पुग्ने बिरामीको संख्या ह्वात्तै बढेको छ । संक्रमण बढ्न नदिन सरसफाइ र उपचारमा ध्यान दिन आग्रह गरिएको छ ।

दाङका दुईवटा आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आँखा पोकेको रोगको उपचारको लागि पुग्ने गरेका छन् । यसरी पुग्ने बिरामीमध्ये धेरैजसो एकै परिवारका सदस्य पनि रहेका छन् । साना बालबालिकादेखि युवा र बृद्ध सबै उमेर समुहका व्यक्ति संक्रमित भएको पाइएको छ । ‘साँझ घर आउँदा नानीको आँखा राम्रै थियो । बिहान उठ्ने बेलामा टालिएको थियो’– लमही निवासी सम्झना शर्माले भन्नुभयो– ‘आँखा रातो र कचेरा आएको थियो । उपचार गर्न अस्पताल पुग्नुप¥यो ।’ सरसफाइमा ध्यान नदिदा संक्रमण फैलिन पुगेको स्वास्थ्यकर्मीको भनाइ छ । आँखामा समस्या आए जाँच गरेर मात्रै औषधि राख्न स्वास्थ्यकर्मीको सुझाव छ । जथाभावी औषधि राख्दा समस्या पर्न सक्ने भन्दै परीक्षण गरेर औषधि राख्नुपर्ने लमही आँखा अस्पतालका नेत्र सहायक लालबहादुर चौधरीले बताउनुभयो ।

‘आँखा चिलायो, पिरो भयो, कचेरा आउन थाल्यो भने घरेलु औषधि हाल्ने, झारफुक गर्ने जस्ता काम गर्नुहुँदैन । अनिवार्य आँखा जाँच गरेरमात्रै औषधि हाल्नुपर्छ’– उहाँले भन्नुभयो– ‘जथाभावी औषधि हाल्दा आँखामा थप समस्या आउन सक्छ ।’ आँखामा घाउ हुने र सामान्य आँखा पाक्ने दुई थरी समस्या देखिएकाले जाँच गरेर मात्रै पत्ता लाग्ने उहाँको भनाइ छ । आँखा पाक्ने रोग फैलिदै जाँदा रोकथामका उपायहरु अपनाउन भने जरुरी छ । आँखा संक्रमण भएमा सकेसम्म भिडभाडमा नजाने हो भने पनि संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो ।

यसरी बच्न सकिन्छ

संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुनुहुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ । ऑँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउनुपर्छ । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ । घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्नु भने हुँदैन । आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा माड्नुहुँदैन । पानी छ्याप्नु हँुदैन । जथाभावी औषधिको प्रयोग गर्नुहँुदैन । घरबाहिर जाँदा कालो चश्मा प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया