रोल्पा बस दुर्घटना: ४ जनाको मृत्यु, १८ घाइते

दाङ – रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। ५ जनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा माडी गाउँपालिका–४ रोल्पाकी हस्ता डाँगी, सोही ठाँउका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर बिक र माडी गाउँपालिका–२ रोल्पाका प्रकाश बाँठा रहेका छन्।

बस रोल्पाको त्रिवेणी गाँउपालिका ७ टिलानजिक सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाइएको र स्थानीय बासिन्दाको सहयोगमा उद्दार कार्य जारी रहेको छ।

घाइतेहरुलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको थियो। प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया