लुम्बिनी प्रदेश सभा बैठक स्थगन हुनुमा सरकार जिम्मेवारः एमाले

दशरथ घिमिरे

 

दाङ– नेकपा एमालेले आइतबारको प्रदेश सभा बैठक स्थगन हुनुमा प्रदेश सरकार जिम्मेवार रहेको बताएको छ।

प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बलमिच्याई गर्दै सरकार अघि बढेको बेला सदन स्थगन हुन पुगेको र यसको जिम्मेवार प्रदेश सरकार रहेको जिकिर गरिएको छ।

आर्थिक बर्ष २०८०/८१ को बजेट मार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत सरकारले संचालन गरेका क्रमागत योजना कटौती गर्ने, बहुबर्षीय योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ थोरै बजेटको व्यवस्था गर्ने र सरकारको सम्पूर्ण ध्यान संघियताको मर्म र भावनालाई कमजोर बनाउन उद्धत रहिरहेको विज्ञप्तीमा उल्लेख छ।

एमालेले बारम्बार संवादको लागि कोशिस गर्दा समेत बलमिच्याई गर्दै जनविरोधी कर्यमा सरकार अघि बढ्न खोजेकाले आइतबारको सदन स्थगीत हुन पुगेको जानकारी दिइएको छ।

‘एमाले सहमति र सहकार्यको पक्षमा सधैँ अडिग रहँदै आईरहेको छ तर वर्तमान लुम्बीनी प्रदेश सरकार एकलकाटे, संविधानको मर्म र भावनाका विरुद्धमा एकपछि अर्को निर्णय गर्दै अघि बढि रहेको अवस्था छ’विज्ञप्तीमा भनिएको छ,‘ तसर्थ सभा स्थगित हुनुमा प्रदेश सरकार नै जिम्मेवार रहेको कुरा यसै बक्तव्य मार्फत सम्पूर्ण प्रदेश बासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा जानकारी गराउँदछौ।’

तपाईको प्रतिक्रिया