राप्ती पूर्णखोप सुनिश्चित पालिका घोषणा

देउखुरी । राप्ती गाउँपालिकालाई आइतबार एक कार्यक्रम बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

 

खोपको सबै कार्य पूरा गरेपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । नौवटै वडाका सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा राप्ती गाउँपालिकाको नौवटै वडामा रहेका जन्मेदेखि १५ महिनामुनिका कुल आठ सय ४९ जना बालबालिकामध्ये सात सय २८ जना बालबालिकाले नौ प्रकारको खोप लिएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । जसमा चारजनाले कुनै पनि प्रकारका खोप लिएका छैनन् भने सातजना बालबालिकाले केही खोप मात्र लिएका छन् ।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा ३ नम्बर वडाध्यक्ष उमेश अधिकारीको अध्यक्षता एवं दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप कार्य निरन्तर चलिरहने र उमेर समूहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता घोषणा र प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

पूर्ण खोप सुनिश्चिततामा राप्ती गाउँपालिका अगाडि र क्रियाशील रहेको उल्लेख गर्दै शर्माले अन्य पालिका पनि यसरी नै क्रियाशील हुनुपर्ने बताउनुभयो । खोप लिने उमेर समूहका बालबालिका अझै पनि छुटिरहनु दुःखद् विषय भएको बताउँदै शर्माले समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले पालिकाले स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताउनुभयो । सो अवसरमा एउटा प्रस्तावित अस्पताल, एउटा स्वास्थ्य चौकी र सातवटा स्वास्थ्य इकाईका स्वास्थ्य प्रमुख तथा वडाध्यक्षहरूलाई प्रमुख अतिथि शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाण–पत्र हस्तान्तरण गर्न‘भयो । गाउँपालिकाका सबै वडाका अध्यक्ष तथा स्वास्थ्य प्रमुखहरुलाई समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, जिल्ला स्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत तथा खोप संयोजक किशोर आचार्यलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्न‘भएको थियो । कार्यक्रमको सञ्चालना सूचना अधिकारी विश्वास विकले गर्न‘भएको थियो ।

तपाईको प्रतिक्रिया