करण र भीम चम्किँदा अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी

आईसीसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। ४३ ओभरमा २०८ रनको लक्ष्य पूरा गरेको हो।

 

भीम सार्की लयात्मक ब्याटिङसँगै नेपालले जित हासिल गरेको हो। सार्कीले ११४ बलमा ७७ रन बनाएर अविजित रहे। नेपालले इनिङ सम्हाल्दै सार्कीले उक्त रन योगदान गरेका हुन्। मंगलबारको खेलमा अर्धशतक पार गर्ने उनी एकमात्र नेपाली ब्याटर हुन्।  यसैगरी दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन बनाएर जित दिलाउन सघाए।

२०८ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ३९ रन बनाएर बाहिरिएका थिए। उनले ५४ बल खेलेर १ छक्का र ४ चौकाको सहयोगमा उक्त रन बनाएका हुन्। उनलाई अमेरिकाका बलर नोसथुस केन्जिगेले आफ्नै बलमा क्याचआउट गराएका हुन्। यसअघि नेपालका ओपनर आसिफ शेख १२ रन बनाएर बाहिरिएका थिए।

bhim sarki1687270833.JPG

यसैगरी कप्तान रोहित पौडेल २९ बलमा १६ रन बनाएर आउट भए भने कुशल मल्ल १३ बलमा १३ रन नै बनाएर बाहिरिए। जिम्बावेको हरारेमा भइरहेको प्रतियोगितामा अमेरिका ४९ओभरमा अलआउट हुँदै २०७ रन मात्र बनाएको हो। शायन जहांगिरले अमेरिकाका लागि सर्वाधिक एक सय रन बनाए।

यसैगरी शुसान्त मदानीले ४२ रन, गजानन्द सिंहले २६ र जस्सी सिंहले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकसमेत जोड्न सकेनन्।

अमेरिकालाई ४९ ओभरमा अलआउट गर्ने क्रममा करण केसीले ३३ रन दिएर ४ विकेट लिए। यसैगरी गुलशन झाले ३ विकेट, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए।

karan kc1687271001.JPG

नेपालका स्टार बलर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भए। १० ओभर नै बलिङ गरेका उनी ५८ रन दिँदै नेपालका लागि महँगा सावित भए।

यो जितसँगै नेपालले सुपर ६ मा पुग्ने सम्भावना कायम राखेको छ। पहिलो खेल जिम्बावेसँग हारेको नेपाललाई दोस्रो खेल जित्नैपर्ने चुनौती थियो।

मंगलबार नै भएको नेपाल सम्मिलित अर्को खेलमा जिम्बावेले सहज जित निकालेको छ। लगातार दुई जितसँगै जिम्बावे शीर्ष नम्बरमा उक्लेको छ। वेस्टइन्डिज दोस्रो र नेपाल तेस्रो नम्बरमा छन्।

तपाईको प्रतिक्रिया