देशकै ठूलो सहर मात्र होइन केन्द्रीय राजधानीसमेत रहेको काठमाडौ महानगरपालिकाको मेयरसहितका स्थानीय जनप्रतिनिधिको मतगणना भइरहदा सबैको ध्यान त्यतै केन्द्रीत भइरहेको छ । केन्द्रीत हुनको मुख्य कारण हो बालेन्द्र (बालेन) साह ।

काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता लिइरहेका मात्र छैनन्, नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा बढी उनी एक्लैले ल्याएका थिए । तर पछिल्लो समय नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नो मत बढाएका छन् ।
बालेनले काठमाडौं महानगरपालिकामा यसपटक मौका पाउने आकल गर्न थालिएको छ । मौकामा चौका हैन एकैपटक छक्का हान्दै स्थानीय सरकारको बागडोर उनको हातमा आउनसक्ने आकल गर्न थालिएको छ ।
सुरुवाती अग्रता लिएका बालेनले दुई बलिया पार्टीका उम्मेदवारलाई नजिक आउने अवसर समेत दिएका छैनन् । अझ भन्ने नै हो भने पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै काठमाडौं महानगरपालिकाकोे नेतृत्व लिने दौडमा छन् उनी । तरपनि उनलाई काठमाडौं महानगरपालिकाको नेतृत्व पुग्न भने अझै सकस नै देखिन्छ ।
बिहिबार बेलुका ९ः३० बजेसम्म बालेनले २४ हजार ६ सय १८ मत पाएका छन् भने एमालेका केशव स्थापितले १३ हजार २ सय ४६ र कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३ सय ७ मत पाएकी छिन् ।
राजनीतिमा नामै नसुनिएका बालेनले काठमाडौंका मतदाताको मन जित्दै २४ हजार ३ सय ३५ मत ल्याउदा वैकल्पिक राजनीतिको नारा दिएको विवेकशील साझा पार्टीका उम्मेदवारको अवस्था भने दयनीय छ ।
२०७४ को स्थानीय चुनावमा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले प्रमुख दलका उम्मेदवारहरुलाई कडा चुनौती दिएका थिए । विवेकशीलकी रञ्जु दर्शनाले २०७४ स्थानीय निर्वाचनमा २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् भने साझा पार्टीका किशोर थापाले पनि १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए । त्यही मतबाट हौसिएर पार्टी एकता गरेका विवेकशील र साझा मिलेर बनेको विवेकशील साझाले यसपटक नगन्य मत पाएको छ ।
वैकल्पिक राजनीति खोजेका काठमाडौंबासीले अहिले भने बालेनलाई साथ दिएको देखिन्छ । यसको परिणाम भने हेर्न बाकी नै छ ।

तपाईको प्रतिक्रिया