
दशरथ घिमिरे
देउखुरी, १७ चैत । पूर्व पश्चिम राजमार्ग खुला गर्ने नाममा काटिएका रुखहरुको बारेमा अनुसन्धान भइरहेको छ । विभिन्न निकायले सडक किनारमा रहेका रुखहरु काटिएको बिषयमा अनुसन्धान जारी राखेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखी डिभिजन वन कार्यालय देउखुरीले यस बिषयमा अनुसन्धान गरिरहेको हो । सडक क्षेत्र खुला गर्ने नाममा धमाधम राजमार्ग किनारका रुखहरु काटिएपछी सम्वन्धित निकायले यसमा चासो दिएका थिए । अनाधिकृत रुपमा रुख काटिएपछी अनुसन्धान गर्न सम्वन्धित निकायलाई दवाब समेत परेको थियो । अनुसन्धान मध्यम चरणमा पुगेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय हुदै अहिले वन कार्यालयले काटिएका रुखको बारेमा अनुन्धान गरिरहेको छ ।
‘फिल्डको काम करिब करिब सकिएको छ । विगो मुल्यांकन पनि अन्तिम चरणमा पु¥याएका छौं । प्रमाणहरु संकलनको काम जारी छ’वन कार्यालयका प्रमुख क्षेत्रीले भन्नुभयो,‘अव वयानको चरणमा छौं । रुख काटिएको र यस संग जोडिएका सबै निकाय संग सरोकार राख्ने भएकाले अव बयानको काम चल्छ ।’ अनुसन्धान सकेपछी सरकारी वकिल कार्यालयमा अनुसन्धानको दस्तावेज बुझाइने छ । त्यसपछी सरकारी वलिक कार्यालयले बाँकी कानुनी प्रक्रिया अनुसारको काम अघि बढाउने छ ।‘हाम्रो काम अनुसन्धान गर्ने हो । प्रमाणहरुको संकलन गरेर जे भेटिएको छ त्यो विवरणहरु बुझाउने हो । यसमा कुन दफा लगाउने, कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने बारेमा सरकारी वकिल कार्यालय संग परामर्श लिएर अघि बढ्नुपर्छ’क्षेत्रीले भन्नुभयो,‘सबै कोणहरुबाट अनुसन्धान गर्ने काम भइरहेको छ ।’ प्रारम्भिक चरणको अनुसन्धान सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको थियो । प्रारम्भिक चरणमा गरिएको अनुसन्धानबाट एक हजार ६ सय जती रुखहरु काटिएको विवरण संकलन गरियो । वन कार्यालयले अहिले गरिरहेको अनुसन्धानको क्रममा रुख, वुटा, बुट्यान गरेर दुई हजार ७ सयको हाराहारीमा काटिएको विवरण संकलन भएको छ । विगो र प्रमाणको आधारमा मात्रै मुद्धा अघि बढाइने तयारी छ ।‘सतही अनुसन्धान भन्दा पनि गहिरोगरी अनुसन्धान भइरहेको छ । कसरी यस प्रकारको त्रुटी हुन गयो भन्ने बारेमा खोज्ने काम भइरहेको छ’अनुसन्धानमा संलग्न एक अधिकारीले भने,‘नीतिगत ईसु धेरै देखियो । व्यक्तिगत भन्दा पनि । सडक कार्यालयको सूचनालाईनै मुख्य आधार मानेर राजमार्गका रुखहरु काटिएको देखिन्छ । यसमा त्यो सूचनाले कसरी काम ग¥यो त्यसमा पनि अनुसन्धान चल्दैछ ।’
सडक कार्यालयको सूचना र स्थानीय पालिकाको केही सूचनालाई समेत आधार मानेर अनुसन्धान भइरहेको छ । वन कार्यालयले सडक किनारका काटिएका रुखहरुको केही अंश मात्रै काठ बरामद गरेको छ । त्यो काठ कस्ले कसरी उपयोग गरे भन्ने बारेमा समेत अनुसन्धान केन्द्रित छ । यो अनुसन्धान सकिन अझैं डेढ महिना जती लाग्ने देखिन्छ । सडक क्षेत्र खुला गर्ने र राजधानी आएको खुसीयालीमा गरिएको झाडी सरसफाईको निहुँमा बर्षौं अघि लगाइएका रुखहरु काटिएका थिए । अनुमती विनै रुख काटिएपछी यस संग सम्वन्धित निकायलाई दववा परेको हो । पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा एमसिसि परियोजना समेत लागु भएको अवस्थामा रुख काटिएको बिषयलाई गम्भिरतापूर्वक लिइएको थियो ।
सडक डिभिजन कार्यालय, दाङले गत मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धित सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँबायाँ ३१÷३१ मिटर भित्र रहेका संरचना तथा अन्य सामग्रीहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटान तथा खाली गर्न भनिएको थियो ।
पुस ५ गते भित्र हटाउन तथा खाली गर्न यो सूचना प्रकाशित गरिएको थियो । सो अवधिमा भित्र खाली गरेको नपाइएमा सडक डिभिजन कार्यालयले आफैँ भत्काउने र हटाउने कार्य गर्ने, खाली गराउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट सरकारी बाँकी सरह असुल–उपर गरिने चेतावनीसहित सूचना जारी भएको थियो ।
मुख्यमन्त्रीको चासो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सडक क्षेत्रमा पर्ने रुखहरु काटिएको घटनाको बारेमा चासो लिनु भएको छ । सडक डिभिजन कार्यालयले प्रकाशित गरेको सूचनाको आधारमा रुखहरु काटिन पुग्नु भवितब्य घटना भएको भन्दै त्यस भित्र पनि नियतबस भएका बदमासीमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।‘राजमार्ग खुला गर्ने सूचनाको आधारमा जसरी रुखहरु काटिए यो एउटा भवितब्य घटना भयो’उहाँले भन्नुभयो,‘यस भित्र पनि कसैले नियतबस कारोबार गरेका छ भने संलग्नहरुको पहिचान हुनुपर्छ ।’ रुख काटिएको घटनाको बारेमा मुख्यमन्त्री गिरीले प्रमुख जिल्ला अधिकारी शुसील वैद्य, डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्री, सडक डिभिजन कार्यालय दाङका सव ईञ्जिनियर महेश विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विरबहादुर वली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट लगायत संग जानकारी लिनुभएको छ ।

तपाईको प्रतिक्रिया