सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसपाबाट दुई र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेको हो।

शनिबार जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएका हुन्।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एक मात्रै उम्मेदवार तय गर्न नसकेपछि तीन वटा उम्मेदवारी दर्ता भएको हो।
रामसहायप्रसाद यादवको उम्मेदवारीको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।
उम्मेदवारी दर्तापछि उनले आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका थिए। ‘दलरुले समर्थन गर्नुभएकोमा धन्यवाद दिन्छु। निर्वाचित भएँ भने संविधानको रक्षा गर्ने पालना गर्ने राष्ट्रिय एकतालाई बलियो पार्न भूमिका खेल्छु’, उनको भनाइ थियो।
जसपाले गत बिहीबारकै कार्यकारिणी समितिको बैठकबाट रामसहायप्रसाद यादवको नाम टुंगो लगाएको थियो। तर, राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने निर्वाचन आयोगको जोडका कारण जसपाले वैकल्पिक उम्मेदवार पनि तयार गरेको हो।
यद्यपि, प्रमिलाले आफूले जित्नकै लागि उम्मेदवारी दिएको बताइन्। उनले आफ्नो उम्मेदवारी अन्तिमसम्मै कायम रहने पनि दाबी गरिन्। उनले आफूले पार्टीको निर्णय मानेको बताइन्। साथै जित्ने पूर्ण विश्वास भएको पनि बताइन्।
उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। त्यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्।
जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाउने निर्णय लिएको थियो। बिहान बालुवाटारको बैठकबाट बाहिरिँदै गर्दा जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टी लगायतको समर्थनमा झालाई साझा उम्मेदवार बनाउने बताएका थिए। सोही अनुसार उम्मेदवारी दर्ता भएको हो।
झाको उम्मेदवारीको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्। त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।

तपाईको प्रतिक्रिया