दशरथ घिमिरे

देउखुरी । राष्ट्रपति चयन गर्न यही फागुन २५ गते निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने मतदानले तेस्रो कार्यकालको लागि राष्ट्रपति चयन गर्ने छ । आठ राजनीतिक दलबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । यसै सन्दर्भमा आठ राजनीतिक दलको गठबन्धनले लुम्बिनी प्रदेशमा शुक्रबार अभिमुखीकरण ग¥यो । जहाँ मत बदर हुन नदिनेदेखि २३ गते नै काठमाडौं गईपुग्न निर्देशन दिइएको छ । एनजिओ, आइएनजिओको नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न समेत सचेत गराइएको छ ।
‘२३ गते नै काठमाडौं पुगी सक्नुपर्ने छ । कसरी पुग्ने यहाँहरुले तयारी गर्नु होला, सकेसम्म एकै ठाउँ बस्नुहोला’– नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर पुनले भन्नुभयो– ‘एनजिओ, आईएनजिओको नाममा अल्मल्याउन खोजिएको जस्तो देखिन्छ । यस्ता उल्झनमा नपर्नुहोला ।’ नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य साथमा राखेर काठमाडौं पुग्न निर्देशन दिइएको छ । गोप्य मतदान भए पनि कसैको प्रलोभनमा नपर्न समेत सांसदहरुलाई भनिएको छ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलको संयुक्त अभिमुखीकरण राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको हो । आठ राजनीतिक दलमा आबद्ध प्रदेशसभा सदस्यहरुले राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आठ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै संविधान रक्षा गर्न आठदलीय गठबन्धन बनेको र यसै गठबन्धनले मुलुकलाई स्थायित्व प्रदान गर्ने दाबी गरे । संवैधानिक मर्यादा भित्र रहने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गरिनुपर्ने नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले बताउनुभयो । ‘संविधानभन्दा माथि कोही छैन । तर, विगतका अभ्यासले त अर्कै संकेत ग¥यो’– उहाँले भन्नुभयो–‘संविधानको रक्षाका लागि हामी एक ठाउँमा उभिएका हौं ।’
संविधानमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिइएको छैन । तर अघिल्ला केही अभ्यासले राष्ट्रपतिलाई कार्यकारी जस्तो भूमिकामा देखाउनु चुनौतीको विषय बनेको र अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा, त्यसको पालनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको छ । नेपाली कांगे्रसले सुझबुझ पूर्णरुपमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको माओवादी नेता चक्रपाणि खनालले बताउनु भयो । ‘पाँचदलीय गठबन्धन किन बन्यो, किन भत्कियो, नयाँ किन बन्यो भन्ने भन्दा पनि हामी संविधानको रक्षाका लागि एक ठाउँमा छौं’– उहाँले भन्नुभयो– ‘हामीहरुको बीचमा विश्वास चाहिन्छ । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा सुझबुझपूर्णरुपमा उम्मेदवार बनाएको छ ।’
प्रतिनिधिसभा विघटन, विधेयकहरु रोकिनु जस्ता घटनाहरु अब नदोहोरिने प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानको रक्षाका लागि सही व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरिनुपर्ने भएकाले आठदलीय गठबन्धन निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो । ‘रातारात राष्ट्रपतिलाई शक्ति दिने काम भयो । यो गलत हो’– उहाँले भन्नुभयो– ‘सार्वभौम संसद भन्दा माथि कोही छैन । संसदले गरेका निर्णयहरु रोकिनु दुर्भाग्य थियो । अब त्यसो हुने छैन ।’ नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिनु दुर्भाग्य भएको दाबी उहाँको छ । ‘अध्यादेश मन्त्रिपरिषद्ले पठायो तर रोक्ने काम भयो’– उहाँले भन्नुभयो– ‘त्रुटि नगर्ने व्यक्तिको खाँचो छ । संविधानको पालना गर्ने व्यक्ति चाहियो । धृतराष्ट प्रवृत्तिबाट राष्ट्रपति पद चल्दैन । राष्ट्रपति संविधानको संरक्षक हो ।’ जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले गठबन्धन दलभित्र विश्वासको वातावरण चाहिने बताउनुभयो ।
‘गठबन्धन बनाउने र भत्काउने खेल बन्द गरियोस्’– उहाँले भन्नुभयो– ‘गठबन्धनभित्र विश्वास र इमानदारिताको खाँचो छ ।’ नेकपा एकीकृत समाजवादीका नेता भागवत विश्वासीले अहिलेको परिस्थिति सिर्जना गर्न पार्टीले ठूलो त्याग गरेको दाबी गर्नु भयो । उहाँले यही गठबन्धनको निरन्तरताका लागि पार्टी प्रतिबद्ध रहेको भनाइ राख्नुभयो । राष्ट्रिय जनमोर्चाका नेता राजकुमार क्षेत्रीले एकताबद्ध भएर इमानदारिता प्रस्तुत गर्ने बेला आएको बताउनुभयो । प्रतिगमनको खतराबाट जोगाउन आठदलीय गठबन्धनलाई बलियो बनाउनुपर्ने तर्क उहाँको थियो । नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, जनमत पार्टीका नेता भोपेन्द्रप्रसाद यादवलगायतले आठ दलीय गठबन्धनभित्र सहकार्यको भावनासहित अघि बढ्ने र अस्थिरताको अन्त्य हुने बताउनुभयो । लोसपाका नेता सन्तोष पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन दीपेन्द्रकुमार पुनले गर्नुभएको थियो । लुम्बिनी प्रदेशमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमतका तीन–तीन र दुई स्वतन्त्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य छन् ।

तपाईको प्रतिक्रिया