उदेश्य पुरा नहुँदै राजधानी क्षेत्रको जग्गा फुकुवा हुँदैनः मुख्यमन्त्री गिरी

 

 

देउखुरी । रोक्का जग्गा फुकुवाको माग गर्दै संकलित हस्ताक्षर लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई हस्तान्तरण गरिएको छ। प्रदेश राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी भित्र पर्ने १४ वटा वडाको जग्गा बिगत २ बर्ष ४ महिना देखि रोक्का गरिएको छ। तर, जग्गा फुकुवाको लागि सरकारलाई ध्यानाकर्षण गराउन लिखित हस्ताक्षर बुझाउने काम भएको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए। यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी क्षेत्रको जग्गा तत्काल फुकुवा नहुने बताएका छन्।

राजधानी क्षेत्रको रोक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै मुख्यमन्त्री मन्त्री कार्यालय मौरीघाटमा गएको एक प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गिरीले जुन उदेश्यका लागि जग्गा रोक्का गरिएको हो, त्यो उदेश्य पुरा नहुँदै फुकुवा गर्न नसकिने बताएका हुन् ।

राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काको अगुवाईमा आइतवार गएको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले राजधानी क्षेत्रको जग्गा तत्काल फुकुवा गर्नका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणको काममा सहयोग गर्न सबै राजधानीबासीमा आग्रह गरे । मुख्यमन्त्री गिरीले भने ‘ प्रदेश पूर्वाधार विकास प्राधिकरणको काममा सहयोग गर्नुहोस्, जति छिटो कार्य सम्पादन हुन्छ, त्यति छिटो नै जग्गा फुकुवा हुन्छ ।’

अध्यक्ष खड्कासहित राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति विद्यासरण चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सचिव भरतमणि न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रणप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष ताराबहादुर डिसी, संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, महासचिव नारायणप्रसाद शर्मा, सदस्य कृष्णराज पौडेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएका थिए ।

मुख्यमन्त्री गिरीलाई जग्गा फुकुवा माग गर्दै १० हजार जनाको हस्ताक्षण समेत बुझाएको छ । २०७७ असोज १६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले दाङको राप्ती गाउँपालिकाको, गढवा गाउँपालिकाको वडा नं. १, २, ३, र शितगंगा नगरपालिका वडा नं. ८ र ९ का जग्गा रोक्का गर्ने निणर्य गरेको थियो ।

 

तपाईको प्रतिक्रिया