ओमप्रकाश गुप्ता
भालुवाङ २९ जेठ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गर्दै लागुऔषध दुव्र्यसन, ट्राफिक सुरक्षा तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

राप्ती प्रेस मञ्चको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, सचेत र अनुशासित बन्न प्रेरित गरेको छ। पछिल्लो समय किशोर–किशोरीहरू लागुऔषधको दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग तथा ट्राफिक नियम उल्लंघनका कारण विभिन्न समस्यामा पर्ने क्रम बढ्दै गएको सन्दर्भमा विद्यालय तहबाटै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ । विद्यालय स्तरमा सञ्चालन गरिएको यस्तो अभियानले विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ताहरूले विद्यार्थीहरूलाई व्यवहारिक र जीवनोपयोगी जानकारी प्रदान गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि निकै चासोका साथ प्रशिक्षणमा सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुनले लागुऔषधको बढ्दो प्रयोग समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभयो। उहाँले चुरोट, मदिरा, गाँजा, ब्राउन सुगर लगायतका विभिन्न प्रकारका लागुऔषधबारे जानकारी दिँदै यसको प्रयोगले व्यक्तिको स्वास्थ्य, शिक्षा, परिवार र भविष्यमा पार्ने नकारात्मक असरबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो।
पुनले किशोरावस्थामा साथीहरूको दबाब, गलत संगत, जिज्ञासा तथा सामाजिक प्रभावका कारण धेरै युवा लागुऔषधको प्रयोगतर्फ आकर्षित हुने गरेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई कुनै पनि परिस्थितिमा लागुऔषध सेवन नगर्न, साथीभाइलाई पनि सचेत गराउन तथा शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो। उहाँले लागुऔषधबाट मुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध र डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले सामाजिक सञ्जाल तथा इन्टरनेटको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गएको बताउनुभयो। फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै उहाँले व्यक्तिगत विवरण, पासवर्ड तथा बैंकिङ सूचना कसैसँग पनि साझा नगर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो। प्रहरी सहायक निरीक्षक विकले अनलाइन ठगी, फेक आइडी, ह्याकिङ, साइबर बुलिङ, अश्लील सामग्रीको दुरुपयोग तथा सामाजिक सञ्जालमार्फत हुने विभिन्न आपराधिक गतिविधिबारे उदाहरण सहित जानकारी गराउनुभयो। उहाँले डिजिटल माध्यमको सही प्रयोगले ज्ञान र अवसर प्राप्त हुने भए पनि गलत प्रयोगले कानुनी समस्या निम्त्याउन सक्ने भएकाले विद्यार्थीहरू सचेत रहनुपर्ने बताउनुभयो। साइबर अपराधको शिकार भएमा लुकाएर नबस्न र तुरुन्त प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।
यस्तै अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम प्रसाद पोख्रेलले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले नेपालमा हुने अधिकांश सडक दुर्घटना मानवीय लापरवाहीका कारण हुने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना सबै नागरिकको दायित्व भएको बताउनुभयो। सडक प्रयोग गर्दा पैदल यात्रुले अपनाउनुपर्ने सावधानी, सवारी चालकले पालना गर्नुपर्ने नियम तथा दुर्घटना न्यूनीकरणका उपायबारे उहाँले जानकारी दिनुभयो। पोख्रेलले मोटरसाइकल चालक तथा पछाडि बस्ने व्यक्तिले अनिवार्य रूपमा हेलमेट प्रयोग गर्नुपर्ने, चारपांग्रे सवारीमा सिटबेल्ट लगाउनुपर्ने तथा ट्राफिक संकेतहरूको पालना गर्नुपर्ने विषयमा जोड दिनुभयो। उहाँले साना कमजोरी र लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सडकमा हिँड्दा र सवारी साधन प्रयोग गर्दा सधैं सजग रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
विद्यालय तहका विद्यार्थीहरूमा सही जानकारी र चेतनाको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ । लागुऔषध, साइबर अपराध र ट्राफिक दुर्घटनाजस्ता समस्याबाट बच्नका लागि ज्ञान, अनुशासन र आत्मनियन्त्रण आवश्यक रहेको बताइएको छ। कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले उनीहरूका प्रश्नहरूको जवाफ दिएका थिए। यसले कार्यक्रमलाई अझ अन्तरक्रियात्मक र प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागीता रहेको थियो।
मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्दै समाजमा देखिएका विकृति तथा विसंगतिविरुद्ध सचेतना फैलाउनु सञ्चारकर्मीहरूको पनि सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले विद्यालय केन्द्रित अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो। मञ्चका महासचिव ओमप्रकाश गुप्ताले सञ्चालन गर्नुभएको कार्यक्रममा मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले विद्यार्थीहरू नै राष्ट्रका भविष्य भएकाले उनीहरूलाई सही दिशा दिन यस्ता अभियान आवश्यक रहेको बताउनुभयो। उहाँले राप्ती प्रेस मञ्चले शिक्षा, स्वास्थ्य, सामाजिक चेतना तथा नागरिक उत्तरदायित्वसँग सम्बन्धित विषयमा आगामी दिनमा पनि विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया