आजदेखि दाङ सहित १५ जिल्लाका ८५ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइदै

 

 

सरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५ सय १ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो।

झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीका स्थानीयलाई आम औषधि सेवन कार्यक्रममार्फत औषधि खुवाउन लागिएको महाशाखाका रामकुमार महत्तोले जानकारी दिए।

सन् २००३ देखि ६४ जिल्लाबाट अभियान सुरु गरिएको थियो। यी जिल्लाहरुमा रोगको दर अपेक्षाकृत रुपमा नघेटकाले पटक पटक औषधि खानु परेको महाशाखाले जनाएको छ। हात्तीपाइले रोगका कारण हालसम्म ४० जिल्लाका ३२ हजार जनामा अपाङ्गता तथा हाइड्रोसिलको समस्या देखिएको उनले जानकारी दिए।

नेपालमा हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी हुँदै आएको महाशाखाले जनाएको छ। यसवर्ष भने स्थानीय तहका लागि २० करोड, प्रदेश तथा जिल्लामा १ करोड ६० लाख, संघमा १२ लाख र औषधिका लागि ८५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको उनले बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्नुपर्ने बताउदै केही समस्याहरु आएपनि हात्तीपाइले रोग निवारण गरिने जानकारी दिए। महाशाखाका निर्देशक डा चुनमलाल दासले औषधि सुरक्षित भएकाले ढुक्क भएर खान सबैलाई आग्रह गरेका छन्।

आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ। सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ।

तपाईको प्रतिक्रिया