
दाङ–लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएपछि मंगलबार लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठक स्थायी राजधान राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले १० वटा मन्त्रालयको अनुमोदन र्गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
मन्त्रालयको नामसहित राजपत्रमा सूचना प्रकाशित गरिएको छ। नयाँ सरकार बनेपछि प्रदेशमा मन्त्रालयको संख्या घटाइएको हो। अघिल्लो सरकारको पालामा प्रदेशमा १३ मन्त्री र ४ राज्यमन्त्री थिए।
त्यसैगरी प्रदेश सरकारको स्थापना दिवस फागुन ३ गते बुधबार भव्यरुपमा सम्पन्न गर्ने निर्णय समेत भएको छ । प्रदेश राजधानी व्यवस्थापनसँगै निर्देशनालय र विभागहरुलाई व्यवस्थित गर्ने निर्णय हुनुको साथै मन्त्रीहरुले आफ्ना मन्त्रालयका समस्याका बारेमा मुख्यमन्त्रीलाई अवगत गराएको प्रवक्ता आचार्यले जानकारी दिए ।
राजीनामा दिएको भनिएकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी मंगलबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भइन्। उनले आफूलाई दिइएको जिम्मेवारी अस्वीकार गर्दै पदभार ग्रहणसमेत गरेकी छैनन्।
उनले भौतिक पूर्वाधार विकास मन्त्रालय दावी गरेको तर आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएपछि असन्तुष्टि रहेकी छन्। गत पुस २८ मा बिना विभागीय मन्त्री नियुक्त भएकी केसीको जिम्मेवारी माघ २८ मा तोकिएको थियो।

तपाईको प्रतिक्रिया