दशरथ घिमिरे

देउखुरी । राप्ती गाउँपालिका वडा नं. २ निवासी रविलाल न्यौपानले लालमटिया चोकमा वरपिपल रोप्नुभयो । वरपिपल हुर्कदै गए । रविलाललाई बुढ्यौलीले च्याप्दै लग्यो । केही वर्षअघि रविलाल दिवंगत हुनुभयो । तर उहाँले रोपेको रुखले धेरैलाई ओत दियो । अब, ती वरपिपलले कसैलाई ओत दिने छैन । किनकि ती वरपिपल अनाहकमा काटिए । वर्षौैंअघि लगाइएका ती वरपिपल राजमार्ग खुला गर्ने नाममा काटिएका हुन् । अहिले त राजमार्गमा छहारी समेत हराएको छ । चिसोमा छहारीको आवश्यकता पर्ने कुरै भएन । तर जव चैत बैशाख लाग्छ, त्यसपछि राजमार्गमा छहारी चाहिन्छ । राजमार्ग खुला गर्ने नाममा झण्डै ५० वर्षअघि रोपिएका वरपिपल समेत काटिएको छ ।
‘खै कताबाट के खबर आयो । धमाधम राजमार्ग छेउछाउका बोटविरुवा काट्न थालियो । नकाटे जरिवाना तिर्नुपर्छ भन्ने हल्ला थियो’– स्थानीय बयोवृद्ध हिमलाल घिमिरेले भन्नुभयो– ‘अहिले त कुन ठाउँमा पुगियो जस्तो लाग्छ ।’ वरपिपलको आडैमा उहाँको पसल थियो । अहिले त्यो पसल पनि छैन । पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा सडक खुला गर्ने र झाडी सफाइ गर्ने नाममा रुख काटिएको विषयमा सडक विभागले सूक्ष्मढंगले अनुसन्धान शुरु गरेको छ । यो सडक खण्डमा एमसिसि परियोजना समेत लागु छ । जसले गर्दा यहाँ भएका रुख कटानको विषय राष्ट्रिय विषय बन्न पुगेको हो । केही दिनअघि सडक विभाग र एमसिसि परियोजनाका प्रतिनिधि मण्डलले स्थलगत अनुगमन समेत गरेका छन् ।
सो क्रममा साना बुट्यानसहित रुखहरु गरेर करिब एक हजार चार सय ५० बोट काटिएको प्रारम्भिक विवरण संकलन गरेको छ । धेरै रुख कटान राप्ती गाउँपालिकामा भएको छ । लमही नगरपालिकामा प्रवेश गरेको थियो । तर बीचमा जिल्ला प्रशासन कार्यालयको पत्रले गर्दा यहाँ थप रुख काटिनबाट जोगिए । अहिले यसरी काटिएका रुख कहाँ छन् त्यसको विवरण फेला परेको छैन । स्थानीय जनप्रतिनिधिले जसको अगाडि रुख थियो उनलै लगेको बयान दिन थालेका छन् । राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता पहलमान चौधरीले सडक डिभिजन कार्यालयले चेतावनीसहितको सूचना प्रकाशित गरेको र सोही आधारमा जनताले आफ्नो घर अगाडिको सडक खाली गरेको जानकारी दिनुभयो । ‘सडकको दायाँ ३१ र बायाँ ३१ मिटर खाली गर्ने सूचना थियो । त्यही आधारमा धमाधम संरचना हटाउन थालियो । लगत्तै रुखहरु पनि काट्न थालियो । जसले काट्यो उसैले घर लग्यो’– उहॉँले भन्नुभयो– ‘केही वरपिपल, जेंगटका रुख काटिए ।’
सडक डिभिजनले सूचना प्रकाशन नगरेको भए रुखहरु काटिने थिएनन् भन्ने बुझाइ धेरैको छ । तर सडक डिभिजन कार्यालयले भने रुख काट्ने आशयको सूचना प्रकाशन नभएको दाबी गर्छ । ‘सडक क्षेत्रमा ढुंगा गिट्टी थुपार्ने, नयाँ अतिक्रमण हुने क्रम बढेपछि त्यसलाई रोक्न सूचना निकालिएको थियो । तर यो सूचनालाई रुख काटिएको विषयसँग जोड्न मिल्दैन’– सवइञ्जिनियर महेश विकले भन्नुभयो– ‘एउटा रुख काट्नको लागि कति प्रक्रिया पूरा गर्नुपर्छ थाहै छ त ? किन यसरी लापरवाही गरियो होला ।’ सडक डिभिजन कार्यालय दाङले मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका संरचना तथा अन्य सामग्रीहरु सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन तथा खाली गर्न भनिएको थियो ।
पुस ५ गतेभित्र हटाउन तथा खाली गर्न यो सूचना प्रकाशित गरिएको थियो । सो अवधिभित्र खाली गरेको नपाइएमा सडक डिभिजन कार्यालयले आफै भत्काउने र हटाउने कार्य गर्ने, खाली गराउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट सरकारी बाँकी सरह असुल–उपर गरिने चेतावनीसहित सूचना जारी भएको देखिन्छ । यही सूचनाले गर्दा राजमार्ग क्षेत्रभित्र पर्ने रुखहरु समेत काटिएको देखिन्छ । डिभिजन वन कार्यालयले काटिएका रुखहरुको विवरण संकलन थालेको छ । सवडिभिजन कार्यालय मार्फत लमही र राप्ती गाउँपालिकाभित्र राजमार्गको दुबै किनारमा काटिएका रुखहरुको ठुटाको आधारमा विवरण संकलन थालेको वन अधिकृत छोटेलाल चौधरीले जानकारी दिनुभयो । ‘हामीले विवरण संकलन गरिरहेका छौं’– उहाँले भन्नुभयो– ‘काटिएका ठुटाहरु हेर्ने काम चलिरहेको छ ।’ वन कार्यालयले टाँचा लगाएका सिसौंका रुख काटिएको पनि आरोप छ ।
सडक डिभिजन कार्यालयको सूचना र राजधानी कार्यान्वयन सँगसँगै हुँदा सरसफाइ अभियान चल्दा झाडी सफाइ गर्ने क्रममा रुख पनि काटिएको पाइएको छ । यस बारेमा के कति कारणले रुखहरु काटिएका हुन् भनेर सम्बन्धित पालिकामा जिल्ला प्रशासन कार्यालयले दाङले सोधेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । ‘हामीले के कति कारणले काटियो भनेर सोध्यौं । तर त्यसको जवाफ आएको छैन’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहबाट पनि यसबारेमा चासो व्यक्त भएको पाएका छौं ।’

तपाईको प्रतिक्रिया