कोइलाबास सिमानाकामा हेल्थ डेस्कको स्थापना, नेपाल प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने

आलोक भावुक

 

गढवा । दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास सिमानाकामा कोभिड १९ हेल्थ डेस्क स्थापना गरेको छ।

गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टको संक्रमणको जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो। गाउँपालिकाले स्वास्थ्य कार्यालय दाङसँगको समन्वयमा कोइलाबास सिमा नाकामा हेल्थ डेस्कको स्थापना गरेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।

भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि मंगलवार देखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले बताए ।

हेल्थ डेस्कमा हाललाई स्वास्थ्य चौकी कोइलाबासका एकजना स्वास्थ्यकर्मी खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने बताइएको छ।
मंगलवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कोभिड १९ हेल्थ डेस्क स्थापना गरिएको हो।

हेल्थ डेक्सको स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कोरोनाको नयाँ भेरियन्ट बाट बच्न आ–आफ्नो स्थानबाट सावधानी अपनाउदै सजक रहन र सिमा नाका भएकोले नेपाल प्रवेश गर्ने सम्पूर्ण लाई अनिवार्य माक्स र तापक्रम नाप्न अनुरोध गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले कोरोना संक्रमितहरुलाई लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगंज र लुम्बिनी अस्पताल बुटवललाई मात्र कोभिड उपचारको लागि तोकेको जानकारी दिए। दाङमा कोरोना संक्रमण भएका बिरामीहरूलाई नेपालगंज अथवा बुटवल पठाउनुको बिकल्प नरहेको चन्दले बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लाई पनि कोरोना संक्रमितहरुको उपचार गर्नका लागि सुचिकृत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया