धमाधम सारिदै अन्य मन्त्रालय पनि (फोटो सहित)

 

 

दशरथ घिमिरे

दाङ–राजधानी क्षेत्रमा मुख्यन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना संगै बाँकी मन्त्रालयहरुको कार्यालय स्थापनाको काम धमाधम भइरहेको छ । प्रदेश सरकारले राजधानीमा मन्त्रालयहरु स्थापना गर्न सम्वन्धित मन्त्रालयहरुमा निर्देशन जारी गरेको थियो । सो निर्देशनको आधारमा मुकाम बुटवलमा रहेका मन्त्रालयहरु धमाधम राजधानी क्षेत्रमा सर्न थालेका हुन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्थापना भएपछी अन्य मन्त्रालयको कार्यालय स्थापना हुने क्रम बढेको हो । १३ वटा मन्त्रालय मध्य ६ वटा मन्त्रालय प्रदेश राजधानी परिसर भित्र स्थापना हुने क्रममा छन् बाँकी ७ वटा मन्त्रालय परिसर बाहिरका सरकारी भवनमा स्थापना हुन थालेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए । ‘मुख्यमन्त्री कार्यालय स्थापना भएको परिसर भित्र ६ वटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालयहरु यो परिसर बाहिर राखिने छ’उनले भने,‘मुख्यमन्त्री कार्यालय स्थापना भइसकेपछी बाँकी मन्त्रालयहरु स्थापनाको कामले गति लिएको छ ।’

मंसिर २८ मा मुख्यमन्त्री कार्यालय स्थापना हुनु अघि राजधानी क्षेत्रमा दुई वटा मन्त्रालय स्थापना भइसकेका थिए । बाँकी ११ वटा मन्त्रालयका कार्यालय राजधानी क्षेत्रमा स्थापना हुने क्रम चलिरहेको छ । मुकाम बुटवलमा रहेको कार्यालयबाट सामानहरु ओसार्न सारिएको छ । मन्त्रालयको वोर्ड टाङ्ने, कार्यालय भवन तयार पार्ने, फर्निसिंगका सामानहरु मिलाउने काम चलिरहेको हो ।

मुख्यमन्त्री कार्यालय परिसर भित्र पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय स्थापना गरिएको छ । अवको एक महिना भित्र यि मन्त्रालयले पूर्णरुपमा काम सुरु गर्ने तयारी छ । बाँकी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, स्वाथ्य मन्त्रालय परिसर बाहिर स्थापना गरिएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय वडा नं. १ को कार्यालय भालुबाङ्गमा, कृषि तथा भूमि व्यवस्था मन्त्रालय वडा नं. २ को कार्यालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा, स्वास्थ्य मन्त्रालय वडा नं. ५ को कार्यालयमा स्थापना गरिएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्रालय स्थापना गरिएको छ । वडा कार्यालयको माथिल्लो तलामा मन्त्रालय राखिएको हो । वडा कार्यालयलाई अनेत्र व्यवस्थापन गर्ने योजनाका साथ मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली सहितका कर्मचारी मन्त्रालयको सामाग्री सहित यहाँ आईपुगेका हुन । ‘राजधानी कार्यान्वयनको लागी मन्त्रालयहरु स्थापना हुने क्रम जारी छ । हामीले पनि राजधानी क्षेत्रमा मन्त्रालय स्थापना ग¥यौं’उपसचिव ज्ञवालीले भने,‘अव केही दिन भित्र मन्त्रालयको कामकाज यहीबाट थालनी हुन्छ ।’

अहिले मन्त्रालयको वोर्ड स्थापना गर्ने र मन्त्रालयको कार्यालय तोक्ने काम भएको छ । पूर्णरुपमा मन्त्रालयको कामकाज सुरु गर्न केही समय लाग्ने देखिएको छ ।‘राजधानी कार्यान्वयनको लागी मन्त्रालयहरु स्थापना गर्न, विभागहरु स्थापना गर्न सरकारी भवन प्रयोग गर्न दिने निर्णय भए अनुसार कामले तिब्रता पाएको छ’राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले भने,‘वडा कार्यालयहरुको भवन मन्त्रालयका लागी दिने भनेर पहिलेनै निर्णय भइसकेको हो । अहिले ति कार्यालयमा मन्त्रालयहरु स्थापना हुने क्रम सुरु भएको छ । सबैजसो मन्त्रालयले आफ्नो कार्यालय राजधानीमा स्थापना गर्न आईसकेको अवस्था छ । कार्यालय व्यवस्थापन गरेर काम सुरु गर्न मात्रै बाँकी छ ।’

विभाग र निर्देशनालय पनि स्थापना गरिदै

प्रदेश राजधानी क्षेत्रमा सबैभन्दा पहिला स्थापना हुने कार्यालय प्रदेश पूर्वाधार विकास प्राधिकरण हो । यो कार्यालयले राजधानी संग जोडिएको गुरुयोजना तयार पार्ने, प्रदेशका अन्य गौरवका आयोजनाको योजना बनाउने काम गरेको छ । त्यसपछी सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरियो । शिक्षा तथा सामाजिक विकास निर्देशनालय मसुरियामा स्थापना गरिएको छ । स्वास्थ्य निर्देशनालय पनि भालुबांगमा राखिएको छ । प्रदेश योजना आयोगको कार्यालय र मुख्य न्याधिवक्ताको कार्यालय मुख्यमन्त्री कार्यालय परिसरमा राखिएको छ । यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालय राप्ती गाउँपालिका कार्यालयमा स्थापना गरिएको छ । अन्य निर्देशनालय तथा कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गर्न थालिएको छ ।

संसद भवन सिंगारिदै

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो संसद बैठक स्थायी राजधानी राप्ती उपत्यकामा बस्दैछ । जसका लागी संसद भवन सिंगार्ने काम चलिरहेको छ । नयाँ सभाहल भएकाले भित्री र बाहिरि परिसर तयार पार्ने काम चलिरहेको हो । राजधानी परिसर क्षेत्र भित्र प्रशासनिक केन्द्र र सदन रहेको छ । प्रदेश सभा भवन भित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोस्ट्रम बनाउने काम बाँकी छ । बाहिरी अन्तरगत रंगरोगन गर्ने काम चलिरहेको छ । प्रदेश सभा सचिवालय तयार पार्ने, संसदीय दलको कार्यालय व्यवस्थापनको काम चलिरहेको छ ।‘आफ्नै प्रदेश सभा भवनबाट सदन चलाउने योजना अन्तरगत काम अघि बढीरहेको छ’प्रदेश सभा सचिव दुर्लभकुमार पुनले भन्,‘प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुन्छ । त्यसपछी सभा सदस्यको सपथग्रहण र संसदको पहिलो बैठक बस्नेछ ।’

तपाईको प्रतिक्रिया