राजधानी कार्यान्वयनको घोषणा, आधुनिक राजधानी अबको संकल्प

दशरथ घिमिरे

 

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थालेको छ ।

मंसिर १९ गते मुकाम बुटवलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गरिएको थियो । एक हप्ताको अवधिमा पूर्वाधार व्यवस्थापन गरेर बुधबारदेखि प्रदेश सरकारको कामकाज राजधानी परिसरबाट शुरु गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उद्घाटन गर्नुका साथै कार्यालय परिसरमा झण्डोत्तोलन समेत गर्नुभयो । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाई बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ ।

१३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र छवटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवास समेत स्थापना गरिएको छ । केही हप्तामा महत्वपूर्ण मन्त्रालय, निर्देशनालय तथा विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभई समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो । ‘हामीले काठमाडौं जस्तो कुचुप्प परेको राजधानी खोजेका होइनौं । यो ठाउँमा आधुनिक राजधानी शहर बसाल्न सकिन्छ । अबको लक्ष्य त्यता केन्द्रित हुनुपर्छ’– प्रदेश प्रमुख शेरचनले भन्नुभयो– ‘अनुचित लाभ भन्दा उचति लाभ लिनेतर्फ ध्यान दिन आग्रह गर्दछु । राजधानी आयो भन्दैमा जग्गा महंगो हुने भनेर तपार्ईंरुहरुले यत्ति सोच्नुभयो भने हुँदैन । यो ठाउँ प्रदेशको नमूना ठाउँ बन्दैछ ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताउनुभयो । राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका (देउखुरी) लेखिने जानकारी दिनुभयो । ‘इतिहासमा जित्ने भनेको एक पटक एक दिन एक सेकेन्ड मात्रै हो । त्यसैले लुम्बिनीले संघीयता कार्यान्वयनमा जितेको छ । यहाँका ५२ लाख जनताले जितेका छन्’– मुख्यमन्त्री केसीले भन्नुभयो– ‘यो जीत लुम्बिनी प्रदेशका १२ जिल्लाका ५० औं लाख जनताको जीत हो । संघीयता कार्यान्वयनको मूल स्पिरिट हो ।’

प्रदेशसभा समेत राजधानी क्षेत्रमा स्थापना गरिएको छ । प्रादेशिक संरचनाले प्रदेशको समृद्धिको लागि योगदान गर्ने निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो । ‘प्रदेशसभा शून्यबाट शुरु भएको थियो । बुटवलमा उद्योग वाणिज्य संघले उपलब्ध गराएको सभाहलबाट काम अघि बढेको थियो । अहिले हामी आफ्नै संरचनाबाट सभा सञ्चालन गर्न सक्ने अवस्थामा पुग्यौं’– उहाँले भन्नुभयो– ‘राजधानीको निर्णय गर्नुअघि सबै जिल्लामा सुझाव संकलन ग¥यौं । अध्ययन ग¥यौं । प्रदेशसभाबाट ऐतिहासिक निर्णय भयो । त्यसको कार्यान्वयन भएको देख्दा ज्यादै खुशी छु’– स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले लुम्बिनी प्रदेशको विकासमा सरकारले सशक्त भूमिका खेल्ने बताउनुभयो । लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले राजधानीलाई स्मार्ट सिटीको रुपमा विकास गरिने बताउनुभयो । ‘राजधानीबाट प्रवाह हुने सेवालाई कुनै पनि हिसावले कमी हुन नदिने, केही भइहाले सुझावहरुलाई मनन गरेर अघि बढ्नेछौं’– उहाँले भन्नुभयो– ‘समृद्ध लुम्बिनीको अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ ।’

झाँकीसहित स्वागत

राजधानी कार्यान्वयनलाई उत्सवको रुपमा मनाइएको छ । स्थानीय तह तथा समुदायस्तरबाट झाँकी प्रदर्शन गरेर राजधानी कार्यान्वयनलाई उत्सवको रुपमा मनाइएको छ । दाङ जिल्लाका दश स्थानीय तह र अर्घाखाँचीस्थित शीतगंगा नगरपालिकाबाट विशेष झाँकीसहितको ¥यालीले राजधानी कार्यान्वयनलाई स्वागत र हौसला प्रदान गरेको छ । थारु, अवधी, खस आर्य समुदायको विशेष लोक संस्कृतिसहितको झाँकी प्रदर्शन गरिएको थियो । थारु समुदायको लाठी, झुम्रा, सख्या, खस आर्य समुदायको मयूर नाच, सोरठी, पञ्चेबाजालगायतका झाँकी प्रदर्शन गरिएको थियो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिकालगायतका स्थानीय तह र समुदायस्तरबाट लोपोन्मुख सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

लेखकको बारेमा
दशरथ घिमिरे

तपाईको प्रतिक्रिया