दाङ–दाङका आँखा अस्पतालमा विशेषज्ञ सहितको उपचार सुरु भएको छ । राप्ती आँखा अस्पताल तुलसीपुर र लमही आँखा अस्पतालमा जटिल प्रकारको शल्यक्रिया हुन थालेको हो । जसले गर्दा जटिल प्रकारको आँखा उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । लमही आँखा अस्पतालले आइतबार लमहीमा पत्रकार सम्मेलन गरेर आँखा उपचार सेवाको बारेमा जानकारी गराएको थियो ।


लमही आँखा अस्पताल र राप्ती आँखा अस्पताल तुलसीपुरमा सेवा थप गरिएको हो । आँखाको पर्दा, आँखाको नानी, आँखाको क्यान्सर, बाल आँखा रोगको उपचार तथा शल्यक्रिया सेवा थप गरिएको हो । मोतियाविन्दुको शल्यक्रिया यस अघिबाट हुदै आएको छ । सामान्य सहित बिशेषज्ञ उपचार सेवा सुरु गरिएको हो । जसले गर्दा आँखा उपचारको लागी काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ । लमही आँखा अस्पतालमा सामान्य तथा जटिल दुवै प्रकारको आँखाको शल्यक्रिया हुने गरेको नेत्र विशेषज्ञ तथा निमित्त मेसु डाक्टर इप्सा भण्डारीले बताइन ।

दाङ जिल्लामा एक हजार ४ सय बढीमा विभिन्न प्रकारको अन्धोपन रहेको ¥याव सर्भेले देखाएको थियो । यो सर्भे सन् २०१६ देखी सन् २०१९ को विचमा गरिएको थियो । यसका आधारमा आँखा स्वास्थ्य कार्यक्रममा लगानी बढाइएको छ । नेपाल नेत्रज्योती संघ अन्तर्गत देशभर २६ वटा आँखा अस्पताल, एक सय २६ बटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । वार्षिक ३२ लाख भन्दा बढी नेत्ररोगीलाई वहिरंग सेवा र करिव ३ लाख ५० हजार भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गर्ने गरिएको छ । अन्धोपन निवारणको लागी सबै निकाय तथा सरकारको सहयोगको खाँचो परेको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।

नेत्ररोग सम्वन्धि समस्या समाधान गर्ने उद्देश्य अनुसार आँखा उपचारमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया