दशरथ घिमिरे

देउखुरी । देउखुरीमा आँखा उपचार सेवा विस्तार हुने भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा आँखा उपचार सेवा विस्तार गर्ने भएको हो । आइतबार लमहीमा पत्रकार सम्मेलन गरेर अन्धोपन निवारणका लागि राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा दैनिक आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ ।
यसअघि महिनामा एक पटक मात्रै आँखा उपचार हुँदै आएकोमा अब दैनिक आँखा जाँच हुने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ प्रशासक शमशेर थापाले जानकारी दिनुभयो । गढवा गाउँपालिका वडा नं. ८ कोइलावासमा रहेको आँखा उपचार केन्द्रमा सल्यक्रिया सेवा थप गरिएको छ । साप्ताहिकरुपमा त्यहाँ मोतीबिन्दुको शल्यक्रिया गरिने छ ।
‘आँखा उपचारलाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले आँखा उपचार केन्द्रको सेवाविस्तार गर्दै शल्यक्रिया सेवालाई पनि थप गरेका छौं’– थापाले भन्नुभयो– ‘अझै पनि आँखा उपचारबाट बञ्चित हुनुभएका बिरामी हुनुहुन्छ । उहाँहरुको सहज उपचारका लागि हामीले सेवा विस्तार गरेका हौं ।’
पुरानो भालुबाङमा महिनामा एक दिन मात्रै सेवा सञ्चालन थियो । त्यहँँ नियमित आँखा उपचार सेवा थप गर्दा तल्लो रोल्पा, प्युठान, अर्घाखाँचीको दाङसँग सीमा जोडिएका बस्तीका नागरिकले उपचार सेवा पाउने आशा गरिएको छ । कोइलावासमा शल्यक्रिया सेवा थप गर्दा छिमेकी देश भारत उत्तर प्रदेशका बिरामीहरु त्यहाँ सेवा लिन आउने आशा गरिएको छ । अहिले दैनिक आँखा उपचार सेवा सञ्चालन छ । पुस १६ गतेबाट कोइलावासमा आँखाको शल्यक्रिया सेवा शुरु हुने छ । गढवा गाउँपालिकाले वडा नं. ३ मा आँखा उपचार केन्द्रको प्रस्ताव गरेको छ । त्यस बारेमा आँखा स्वास्थ्य कार्यक्रमसँग छलफल गरेर निर्णयमा पुगिने जनाइएको छ । आँखा उपचारमा सबैको पहुँच अभिबृद्धि गर्न जिल्लाका दश स्थानीय तहमा उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट आर्थिक रुपले विपन्न ज्येष्ठ नागरिकहरुले सहजरुपमा उपचार सेवा पाउने वातावरण बनेको नेपाल नेत्रज्योति संघ दाङका उपाध्यक्ष रेशमबहादुर खड्काले बताउनुभयो । ‘आँखा आफैमा संवेदनशील छ । यसमा आउने समस्याहरुलाई हेलचक्र्याइँ गर्ने, ढिलो गर्ने प्रवृत्तिले दृष्टि नै गुमाउन सक्ने जोखिम भएकाले यसको उपचारलाई सबैको पहुँचमा पु¥याउन स्थानीय सरकारसँग साझेदारी गरिएको छ’– उहाँले भन्नुभयो– ‘यसले गर्दा नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित भएको महसुस गरेका छौं ।’
दाङ जिल्लामा मात्रै होइन, साविक राप्ती अञ्चलका जिल्लाहरुमा समेत आँखा स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिएको छ । आँखा उपचारको लागि ठूला अस्पतालहरु तुलसीपुर र लमहीमा भए पनि सल्यक्रिया सेवालाई विस्तार गर्ने योजना अनुसार रोल्पा, सल्यान, रुकुम पश्चिममा काम भइरहेको छ । रुकुम पश्चिमको आँखा उपचार केन्द्र, सल्यानको आँखा उपचार केन्द्र र रोल्पाको सुलीचौर आँखा उपचार केन्द्रलाई सल्यक्रिया केन्द्रको रुपमा विकास गर्ने निर्णय भएको नेपाल नेत्रज्योति संघले जनाएको छ । ‘पहाडी जिल्लाका बिरामीहरु सल्यक्रिया सेवा लिन दाङ झर्नुपर्ने बाध्यता छ । अब मोतीबिन्दु सम्मको सल्यक्रिया पहाडी जिल्लामा गर्न सकिने अवस्था बनेको छ’– थापाले भन्नुभयो– ‘हामीले आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा विकास गर्न थालेका छौं ।’

तपाईको प्रतिक्रिया