सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।
हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन्।
पहिले अरुको काम गरेर जीवन धानेको बताउँदै उनका श्रीमान् सूर्यबहादुर विकले तर उमेर ढल्किंदै गएपछि र कमजोर भएपछि काम गर्न नसकेको बताए । तर, अहिले अचार उत्पादन गर्न थालेपछि सजिलो भएको उनको भनाइ छ ।
‘तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौं,’ उनले भने, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।’
छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् ।
उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजारमा बिक्री गर्ने गरेकी छन्। परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।
मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छन्। खासगरी उनको उद्योगमा अकबरेको अचार उत्पादन हुन्छ ।
अचार उद्योगमा साथ दिंदै आएका सूर्यबहादुर भन्छन्, ‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।’
अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । अहिले अचार पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात हुने गरेको छ।
अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन ।
विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छन्। – रासस

तपाईको प्रतिक्रिया