
दशरथ घिमिरे
देउखुरी । स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना भएपछी एकाएक चहलपहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थायी राजधानी राप्ती गाउँपालिका–३ मसुरियामा स्थापना भएपछी चहलपहल बढेको हो । प्रदेश मन्त्रालयका मन्त्री, प्रदेश सभा सदस्य, कर्मचारीहरु आउने क्रम सुरु भएको छ । स्थानीय स्तरमा पनि राजधानीले चहलपहल भित्र्याएको छ ।
प्रदेश सभा भवन, मुख्यमन्त्रीको कार्यालय लगायत अन्य व्यवस्थापनको कामलाई नियाल्न मानिसहरु साविक राप्ती प्राविधिक शिक्षालय परिसरमा पुग्न थालेका छन् । यती मात्र होइन मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यकक्ष चिटिक्क पारिएको छ । मन्त्रीपरिषद्को बैठक बस्ने कक्ष पनि तयार पारिएको छ । सचिवालय पनि व्यवस्थापन गर्ने काम भएको छ । मुख्यमन्त्री कार्यालय परिसरलाई सजाउने काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो ।
‘मुख्यमन्त्री कार्यालय आइसकेपछी अवलोकनका लागी आउनेहरुको संख्या र चहलपहल बढ्दो छ । हामीले यहाँको व्यवस्थापनलाई चाँडो सक्नेगरी काम गरिरहेका छौं’उहाँले भन्नुभयो,‘मुख्यमन्त्री ज्यूको कार्यकक्ष तयार भइसकेको अवस्था छ । बाँकी रहेका काममा हामीले ध्यान दिएका छौं ।’ मुख्यमन्त्री कार्यालय सहित अन्य मन्त्रालय व्यवस्थापनको काम अघि बढेको छ । अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदी र सह–सचिव प्रेमप्रकाश आचार्य राजधानी क्षेत्रमा आउनु भएको छ । उहाँहरुले मन्त्रालय स्थापनाको लागी गृहकार्य थाल्नु भएको छ ।

आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय समेत स्थापनाको तयारी सुरु भएको हो ।‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित ६ वटा मन्त्रालयलाई साविक राप्ती प्राविधिक शिक्षालयको परिसरमा व्यवस्थापन गर्न सकिन्छ । बाँकी केही मन्त्रालयको लागी त्यस भन्दा बाहिरका सरकारी भवनमा व्यवस्थापन गर्न सकिन्छ’राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी कार्यान्वयन मुल समारोह समितिका संयोजक प्रकाश बिष्टले भन्नुभयो,‘राजधानी संग जोडिएका सबैखाले व्यवस्थापन गर्न हामी सक्षम र तयार छौं ।’
२०७७ असोज २० मा प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं ८ र ९ का १४ वटा वडालाई राजधानीको केन्द्र तोकिएको हो ।
राजधानी कार्यान्वयन प्रदेशको उत्सव
राजधानी तोकिएको दुई बर्ष पछी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना भएपछी प्रदेशबासीले उत्सवको रुपमा लिनुपर्नेमा जोड दिइएको छ ।
जिल्ला समन्वय समिति दाङले बुधवार राप्ती गाउँपालिकामा आयोजना गरेको बैठकमा मुख्यमन्त्री कार्यालयको औपचारीक कामकाजको थालनीको दिनलाई उत्सवमय बनाउने निर्णय भएको छ । जिल्लाका दश स्थानीय तह सहित अन्य जिल्लाका पालिकाहरु संग समन्वय गरेर औपचारीक समारोहलाई उत्सवमय बनाउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो ।

मंसिर अन्तिम साता आयोजना गरिने औपचारीक समारोहलाई व्यवस्थीत र प्रभावकारी बनाउन स्थानीय तहले योग्दान गर्ने भएका छन् । जस अन्तरगत पालिकाको पहिचान झल्किने साँझी अनिवार्य सहभागी गराउने, ठाउँ ठाउँमा स्वागतद्धार निर्माण गर्ने समेत निर्णय भएको छ ।‘राजधानी कार्यान्वयनमा भएका गतिविधि प्रति हाम्रो पूर्ण साथ समर्थन छ’तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भन्नुभयो,‘प्रदेश सभाबाट भएको निर्णय कार्यान्वयन भएको देख्दा हामी सबै गौरान्वीत भएका छौं ।’

राजधानी व्यवस्थापनका लागी सरकारी पूर्वाधार चाहिए त्यो दिन तयार रहेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताउनु भयो ।‘राजधानी कार्यान्वयनका लागी लमही नगरपालिकाले जस्तो सुकै योग्दान गर्न पनि तयार छ । हामी संग भएका सरकारी भवन मन्त्रालय, क्वाटरका लागी प्रयोग गर्न सक्नुहुन्छ’उहाँले भन्नुभयो,‘राजधानी कार्यान्वयन प्रदेशको गौरवको बिषय हो । हामी योग्दान गर्न तयार छौं ।’ जिल्ला समन्वय समितिले आयोजना गरेको बैठकमा जिल्लाका दश स्थानीय तहका प्रमुख, उपप्रमुख सहित जिम्मेवार पदाधिकारीको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया