घनश्याम भुसालले त्यागे एमाले, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने

 

 

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा परित्याग गरेको घोषणा गरेका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, उनले फेसबुकमा लेखेका छन्।

भुसालले अहिले एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले–केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको बताएका छन्। ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ’, उनले लेखेका छन्।

पार्टी परित्याग गरेका भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भुसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।

तपाईको प्रतिक्रिया