
दाङ । नेकपा एमालेकी निर्वतमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । सत्गौवा दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बन्ने दौडमा थिइन् ।
उक्त क्षेत्रबाट प्रत्यक्षमा शान्ता चौधरीले टिकट पाउने लगभग तय भएपछि उनी स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छिन्। सत्गौवाले सामाजिक सञ्जाल फेसबुकमार्फत् नै शुक्रबार स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।
सत्गौवाले फेसबुकमा लेखेकी छन् ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’
शान्ता, गंगासँगै उक्त क्षेत्रमा एमालेले रेवतीरमण शर्मालाई सिफारिस गरेको छ। शान्ताले टिकट पाउने लगभग तय भएपछि दाङमै घरदैलो गरिरहेकी छिन्।
एक महिनामै फेरीन बोली
नेकपा एमालेकी निर्वतमान सांसद गंगा चौधरीले एक महिनाअघि भदौ २५ गते(सेप्टेम्बर १०) एउटा तस्बिरसहित पोष्ट गर्दै लेखिन् ‘हामी दुई दिदीबहिनीमध्ये पार्टीले जसलाई टिकट दिएपनि एक भएर जानेछौं।’ उक्त पोष्टमा उनी अर्की सांसद शान्ता चौधरीसँग अंगालो मारेर बसिरहेकी थिइन्।

दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा सिफारिस भएपछि उनले उक्त पोष्ट गरेकी थिइन्। आफूले प्रत्यक्षमा टिकट पाउने सम्भावना देखेका बेला उक्त पोष्ट गरेकी सत्गौवाको बोली भने एक महिना पुग्नु ५ दिनअघि नै बदलिएको छ।
गंगाले टिकटका लागि गरेको लबिइङ असफल भएपछि बिद्रोह गरेको दाङका एमाले नेताहरु बताउँछन्। ‘आफूले टिकट पाउने सम्भावना देख्दा उहाँले जसलाई परेपनि एक भएर जाने भन्नुभयो। टिकट नपाउने भएपछि उहाँ फेरिनुभयो’, ती नेताले भने।

तपाईको प्रतिक्रिया